बागलुङ, १ असोज– निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन निर्वाचनको प्रारम्भिक तयारी बागलुङमा शुरु भएको छ । आगामी असोज २४ गते हुन लागेको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन निर्वाचन सम्पन्न गर्न बागलुङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
सदरमुकाम बागलुङ बजारको ट्राफिक चोकस्थित सरकारी वकिलको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले निर्वाचन अधिकृतको कार्यालयको साईन बोर्ड टाँसेर कार्यालय स्थापना भएको घोषणा गरे ।
बागलुङका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन सम्पन्न गर्न सरकारी वकिल कार्यालयका उप–न्यायधिवक्ता डा. सुरेन्द्र काफ्लेलाई जिम्मेवारी तोकेको छ । सोही अनुसार उनकै कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
कार्यालय स्थापनासँगै निर्वाचनका कार्यक्रम प्रारम्भ भएको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन बागलुङका अध्यक्ष तेजप्रसाद न्युरेले बताए ।
कार्यालय स्थापना गर्दै प्रजिअ न्यौपानेले निष्पक्ष निर्वाचनका लागि सहयोग गर्न सबैलाई आग्रह गरे । कोरोना महामारीबीच हुन लागेको निर्वाचनले देशकै स्थायी सरकार निजामती कर्मचारीहरुको साझा संगठनमा उर्जावान नेतृत्व ल्याउने भन्दै न्यौपानेले त्यसका लागि कुशल उम्मेदवार र निस्पक्ष निर्वाचन आवश्यक हुने बताए ।
निर्वाचन अधिकृत काफ्लेले निर्वाचनका कार्यक्रममा सहभागी भएर तयारीमा लाग्न कर्मचारीहरुलाई आग्रह गरे । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन गर्नको लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधि तथा आचार संहिता निर्माणको कार्य गरिरहेको छ । निर्वाचनले आगामी चार वर्षका लागि केन्द्रिय, विभागिय र जिल्लास्तरको आधिकारीक ट्रेड यूनियन समितिको टुंगो लगाउने छ ।





