बागलुङ, १ असोज– आफ्ना श्रीमान एवं बाबुको वार्षिक तिथीमा यहाँको एक परिवारले गोबिन्द अधिकारी स्मृति फाउण्डेसनलाई आर्थिक सहयोग गरेको छ । साथै, मजदुरलाई राहत वितरणसमेत गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. ३ निवासी स्वर्गिय खेमबहादुर खड्काको वार्षिक तिथीको दिन पारेर खड्काकी पत्नि गोमाले फाउण्डेसनलाई रकम हस्तान्तरण गरेकी हुन् । छोरा डोलेन्द्र र उज्वल तथा बुहारीहरु प्रेरणा र अनिता एवं छोरी जुना र शोभाले संकलन गरेको २ लाख २० हजार रुपैयाँ उनले गोबिन्द अधिकारी मेमोरियल फाउण्डेसनकी अध्यक्ष भीमा अधिकारीलाई बुधबार हस्तान्तरण गरिन् ।
परिवारकै तर्पmबाट बागलुङ बजारमा मजदुरी गर्दै आएका २० जना मजदुरलाई राहत स्वरुप चामल, दाल, नुन र तेल वितरणसमेत गरिएको थियो । कार्यक्रममा प्रतिनिधिसभाकी सदस्य मनकुमारी केसीले वार्षिक तिथिमा गरिएको सामाजिक कामले पुण्यसँगै धेरैको मन जित्ने काम भएको भन्दै प्रशंसा पनि गरिन् ।
२०५१ को मध्यावधि निर्वाचनमा तत्कालिन एमालेको तर्फबाट बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद गोबिन्द अधिकारीको २०५५ फागुन १० गते निधन भएको थियो । पार्टीको काममा जाने क्रममा बिहुँमा निधन भएपछि उनको नाममा गत वर्ष मात्र फाउण्डेसन खुलेको थियो ।
उक्त फाउण्डेसनका लागि खड्का परिवारले रकम दिएको हो । स्वर्गिय खड्का अधिकारीका मामा हुन् । फाउण्डेसनका अध्यक्ष भीमा अधिकारीको अध्यक्षता र डिल्लीराज शर्माको संचालनमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । राहत वितरण गर्दै खड्काले पीडितलाई राहत दिंदा मृतआत्माले शान्ति पाउनेसमेत बताइन् ।





