बागलुङ, १३ असोज– नेपाल सरकारले जारी गरेको सिकाई सहजीकरण निर्देशिकाले असोज १ गतेदेखि नै पठनपाठन थाल्ने भनेको छ । तर, बागलुङका अधिकांस विद्यालयलाई अझै पनि क्वारेन्टाइन बनाईएको छ ।
भारतसहितका विभिन्न देशबाट आएका मानिस ती विद्यालयमा राखिंदा संचालन कठिन भएको हो । विद्यालयहरुले भने टोलमा विद्यार्थी जम्मा गरेर पढाउनु परेको गुनासो गरेका छन् । जिल्लाका २ सयबढी विद्यालयमा क्वारेन्टाइन बनाइएको थियो । तीमध्ये अधिकांस माध्यामिक तहको विद्यालयमा क्वारेन्टाइन छन् ।
आइतबार बागलुङका ३१ जनामा एकैपटक कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइन बनाइएको विद्यालय तत्काल खुल्ने संभावना झन् टर्दै गएको शिक्षकहरुले बताए । ‘हामीले अहिले पनि टोलमा पुगेर कक्षा चलाएका छौं, विद्यालयमा क्वारेन्टाइन हटेको छैन’ त्रिभूवन मावि खरवाङका प्रअ ढालमणी भण्डारीले भने, ‘विकल्पका भवन र संरचना बनाएर क्वारेन्टाइन राख्नुपथ्र्यो ।’ सयौं विद्यार्थीलाई समुदायमा राखेर पढाएको उनले बताए । विद्यालय खोल्न सकेको भए दुरी कायम गर्ने र पालो गरेर कक्षा चलाउन सकिने उनले बताए ।
सदरमुकाम आसपासका विद्यालयमा भने क्वारेन्टाइन थोरै छ । तर सदरमुकामकै रामरेखा आधारभूत विद्यालयमा क्वारेन्टाइन र धौलागिरी बहिरा आवासिय विद्यालयमा आइसोलेसन बनाइएको छ । ‘हामीले त यो वर्षभरिनै पढाउन सकिंदैन जस्तो छ’ बहिरा विद्यालयका प्रअ रेशम श्रीषले भने, ‘आइसोलेसन बनाइएकोले कहिले खाली हुने, कहिले निसंक्रमण गर्ने पत्तो छैन ।’ दशै तिहारपछि विद्यालय खोलेर पढाउने भन्ने तयारी र खोजी गरेको श्रीषले बताए ।
ताराखोला गाउँपालिकाले आइतबारदेखि विद्यालयहरु नै खोलेर पढाउने काम थालेको छ । त्यहाँका विद्यालयमा बनाइएका क्वारेन्टाइन हटाइएका छन् । छिटफुट रुपमा बाहिरबाट आउने मानिसलाई सामुदायिक भवन र अन्य सुरक्षित स्थानमा राख्ने तयारी गरेकोले विद्यालय संचालन सहज भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । ताराखोलाले कोभिड अस्पतालको रुपमा स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्न थालिसकेकोले क्वारेन्टाइनमा पनि सहजता बन्दै गएको उनले बताए ।
सबैभन्दा बढी जैमिनी नगरपालिकामा यो समस्या छ । जैमिनीका अधिकांश माध्यामिक विद्यालय क्वारेन्टाइनकै रुपमा छन् । त्यसैले नगरपालिकाले सामुदायिक भवन र प्राथमिक विद्यालय प्रयोग गरेर कक्षा चलाउने योजना बनाएको बताइएको छ । ‘हामीले टोल–टोलमा बालबालिका जम्मा गरेर पढाउने र प्राथमिक विद्यालय प्रयोग गर्न थालेका छौं’ नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले भने, ‘खाली भएका कक्षाकोठालाई भरपुर उपयोग गरेर पढाई भने संचालन गर्ने लक्ष छ ।’
शिक्षा मन्त्रालयले निर्देशिकाकै आधारमा आगामी मंसिरमा अर्धवार्षिक र चैतमा वार्षिक परीक्षा संचालन गर्ने योजना बनाएको छ । उक्त योजना अनुसार परीक्षा चलाउन पनि दशैअघि र पछिको समय पढाई संचालन गर्नु आवस्यक देखिन्छ । कतिपय सहरी क्षेत्रका विद्यालयले भने अनलाइन कक्षा पनि चलाएका छन् ।
क्वारेन्टाइन हटाउन पालिकाहरुले भने योजना बनाएका छैनन् । वर्षभरिनै भारत र असुरक्षित स्थानबाट आउने क्रम जारी रहने भएकोले सुरक्षित बनाउन नचाहेको देखिएका भण्डारीको टिप्पणी थियो । विद्यालयबाट क्वारेन्टाइन नहटाएमा जाडो मौषममा बालालिका पढाउने काम थप जटिल हुने उनले बताए ।
हरेक पालिकाको केन्द्र तहमा रहेका विद्यालयमा क्वारेन्टाइन छन् । ग्रामीण क्षेत्रका भने कम विद्यालय प्रयोग भएका छन् । सहरी क्षेत्रमा पढाउन खुला क्षेत्र नहुने र सामुदायिक भवनसमेत नभएकोले समस्यामा परेको सदरमुकामस्थित कालिका कन्या माविका प्रअ धनराज सापकोटाले बताए । ‘विद्यालय खुलाए पनि सबै बालबालिका राख्न मिलेन, अन्यत्र लगेर पढाउन खुला ठाउँ छैन’ उनले भने, ‘विद्यालयको विकल्प दिने ठाउँ कतैपनि छैन ।’ बजारक्षेत्रमा टोल कक्षासमेत गर्न नसकिएको उनले बताए । निजी विद्यालयका बालबालिकामा संभव भएपनि सामुदायिकमा पढ्ने मजदुरका छोराछोरीलाई अनलाईन कक्षा समेत दिन नसकिएको उनले टिप्पणी गरे ।





