मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

सरकारी सवारी पनि नियम उल्लंघन गर्दै !

सरकारी सवारी पनि नियम उल्लंघन गर्दै !


  • ढोरपाटन संबाददाता
  • असोज १८ २०७७, आइतबार

बागलुङ, १८ असोज– पुरातत्व विभागको सरकारी नम्बर प्लेटको गाडीमा चालकसहित ८ जना कोचिएर आएको देखेपछि ट्राफिक प्रहरीले शनिबार मालढुंगामा गाडी रोक्यो ।
उनीहरुले हामी सरकारी काममा हिँडेको भन्दै रोक्नुको कारण सोधे । छेवैमा बसेका यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले हामी अगुगमनमा बसेका हौं, तपाईहरुले सरकारले जारी गरेको यातायात संचालन निर्देशिका र स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्नुभयो त्यसैले रोकेको भने ।
गाडीमा बसेकाहरुले राजधानीबाट आएको दम्भ देखाए । ‘हामीले सिडियोसँग पनि कुरा गरिरहेका छौं, तपाईहरु किन रोक्नुहुन्छ ?’ एक कर्मचारीले ठाडो शैलीमा भने, ‘काममा आउँदा पनि अबरोध ?’ तर थापाले सरकारी कर्मचारी भएकोले संयम बोल्न आग्रह गरे । साथै उनले सरकारकै नियम पालनाका लागि बसेकालाई गाली गर्नुभन्दा आँफू सुरक्षित भएर यात्रा गर्न उपयुक्त हुने सुझाव पनि दिए ।
उक्त गाडीमा ८ जना यात्री थिए । जबकी सामान्य अवस्थामा पनि उक्त गाडीमा ६ जना मात्रै बस्न पाउँथे । कोरोना संक्रमणपछि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दा बढीमा ४ जनाको मात्र यात्रा सुरक्षित हुने थियो । तर उनीहरुले प्राविधिकहरु भएको भन्दै जिद्दी गरे । थापाले कारवाही नगरी राज्यको निर्देशिका पढ्न सुझाव दिएर पठाए ।
यो सरकारी गाडीमा भेटिएको दृश्य मात्रै हो । यो चेकजाँचमा मुस्ताङको जिल्ला समन्वय समितिदेखि विभिन्न जिल्लाका पालिकाका साधन पनि भेटिएका थिए । अधिकांशले शनिबारका लागि अनुमति लिएका थिएनन् । निजी सवारी साधनले तीन गुणासम्म भाडा लिएर सिट क्षमताका यात्री बोकेको पनि अनुगमनमा भेटियो । शुक्रबारदेखि कार्यालयले राजमार्गमा गुड्ने सवारी साधनले नियम पालना गरे नगरेको अनुगमन गरेको हो । उपभोक्ता मंच, प्रशासन, प्रहरी र पत्रकारसमेत बोलाएर गरेको अनुगमनले मापदण्ड पालनामा लापरबाही भएको ठहर गरेको छ ।
मास्क लगाउने काममै सबैभन्दा बढी लापरबाही भएको भेटिएको थापाले बताए । त्यस्तै सेनिटाइजर लगाउने, सिट क्षमताभन्दा कम यात्री बोक्नुपर्नेमा जथाभावी गरिएको भेटिएको थियो । कतिपयले प्रहरी देखेपछि मात्रै मास्क लगाएका थिए । कतिपयलाई दिइएको मास्क पर पुगेर फालेका देखिन्थे । कतिपयले बसको ओझेल परेर मोटरसाइकल कुँदाउँथे । ‘आफ्नै सुरक्षाका लागि यतिको काम भएको भन्ने बुझ्ने कोही भएनन्’ मंचका अध्यक्ष शैलेन्द्र श्रेष्ठले भने, ‘कडा कारवाही नगरेसम्म बानी सुधार नहुने भयो ।’ उपभोक्ताहरु आँफै सचेत बन्नुपर्नेमा सवारीका चालक, साहु र निजी सवारी धनीले नियम मिच्दा पनि चुपचाप बसेको उनले बताए ।
जिल्ला प्रशासक कार्यालयले शनिबार अनुमतिबिना सरकारी सवारी चलाउन निषेध गरेको छ । तर मालढुंगाको चेकमा दर्जनबढी सरकारी सवारी पनि गुडेको भेटिएको थियो । कतिपयले पास बनाएका थिएभने कतिपयले बिना इजाजत हिँडेको भेटिएको थियो । उनीहरुलाई पहिलोपटक कारवाही नगरी सुझाव दिएर पठाइएको हो । उनीहरुको रेकर्ड राखिएको छ । दोहोरिएको अबस्थामा कार्यालयले जरिवानालगायतको कारवाही गर्न सक्ने थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->