मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

क्षमताभन्दा बढी कैदीले कारगारमा कोरोना जोखिम

क्षमताभन्दा बढी कैदीले कारगारमा कोरोना जोखिम


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०७७, आइतबार

बागलुङ, १८ असोज– क्षमताभन्दा बढी कैदीबन्दीका कारण कारागारमा कोभिड–१९ को उच्च जोखिममा रहेको राष्ट्रिय मानवअधिकार आयोगले बताएको छ । कोरोना भाइरस महामारीको समयमा कैदीबन्दीहरुको अवस्था बुझ्न बागलुङ कारागार पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कोरोना संक्रमणको उच्च जोखिममा कैदीबन्दीहरु रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
भेटघाट, अदालत, अस्पताल र खाद्यान्न तथा तरकारीको बन्दोबस्तीका समयमा समेत कारागार बाहिरबाट कोरोना भित्रिन सक्ने भन्दै टोलीले सरोकारवालालाई सचेत बनाएको थियो । अनुगमनका क्रममा कारागारमा कोरोनाको जोखिम उच्च पाइएको आयोगका सदस्य सुदिप पाठकले जानकारी दिए । ‘भौतिक अवस्थाका काराण सिर्जित समस्या एकातर्फ होला, त्योभन्दा धेरै सरकारले तोकेअनुसारको स्वास्थ्य मापदण्ड प्रयोगमा ल्यायौं कि ल्याएनौ भन्ने हो’ पाठकले भने ।
उनले अदालतमा बहसका लागि पुग्दा होस् वा स्वास्थ्योपचारका लागि बाहिर निस्किने कैदी हुन्, बाहिर निस्केपछि कारागार बस्नु पूर्वको सावधानी महत्वपूर्ण हुने बताए । कैदीहरुसँग कुराकानी गर्दै पाठकले समस्या भएमा निर्धक्क मानवअधिकार आयोगसँग आफ्ना कुरा राख्न भनेका थिए ।
‘समस्या राख्दा प्रहरीले के भन्ला, प्रजिअ के भन्नुहुन्छ भन्नेमा नलाग्नुस, मानवअधिकार आयोगसँग राखेका कुराका कारण केही अफ्ठेरो पर्दैन’ उनले भने ‘मास्क, सेनिटाईजर र सामाजिक दुरीको ख्याल गर्नुहोला ।’ कारागारको अनुगमन पूर्व आयोगको टोलीले प्रमुख जिल्ला अधिकारी, जेलर, बार एसोसिएसन, सरकारी वकिल, पत्रकार महासंघ, प्रहरीलगायतको प्रतिक्रिया लिएको थियो । छलफलमा सहभागि अधिकांशले पूर्वाधारको अभावका कारण एउटै कोठामा कोचाकोच रहेका कैदीबन्दीमा संक्रमणको त्रास उच्च रहेको बताएका थिए ।
सदस्य पाठकले संविधानले कारागार र कैदीबन्दीका बारेमा स्थलगत अनुगमन गरेर सरकारलाई आवश्यक सुधार गर्न सिफारिस गर्न आयोगलाई जिम्मेवारी दिएको बताए । सोही अनुसार कारागारको स्थलगत अनुगमनमा रहेको टोलीले कैदीबन्दीको अवस्थाबारेमा प्रतिवेदन तयार पारेर असोज २८ गते सरकारलाई बुझाउने कार्यक्रम रहेको जानकारी दिए ।
‘महामारीको समयमा फ्रण्ट लाईनर जोखिममा हुनुहुन्छ, त्यसपछिको सबैभन्दा धेरै जोखिम कैदीबन्दी र गर्भवती तथा वृद्ध वृद्धाहरुलाई छ’ पाठक भन्छन् ‘महामारी भनेर आधारभूत मानव अधिकारलाई नजरअन्दाज गर्न मिल्दैन्’ प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने, ‘राज्यलेनै कारागारको भौतिक संरचना सुधारमा ध्यान दिनुपर्छ ।’
छलफलमा प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ, बार नेपाल एसोसिएसन उच्च अदालत बागलुङ इजलासका अध्यक्ष हरि प्रसाद शर्मा, पत्रकार महासंघ बागलुङका सचिव राम थापा, जेलर मोहन प्रसाद उपाध्याय लगायतले बोलेका थिए ।
जिल्ला कारगार बागलुङमा १ सय ४० जना कैदीबन्दी छन् । तीमध्ये १५ जना महिला हुन् । जिल्ला कारागार पर्वतको महिला बन्दी गृह भत्केपछि बागलुङमा स्थानान्तरण गरिएका कैदीबन्दीको संख्या थप बढेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->