बागलुङ, १९ असोज– बागलुङ नगरपालिकाले बागलुङ बजारमा रहेका अव्यवस्थित तार तथा पोल हटाउने अभियानलाई तिव्रताका साथ अगाडि बढाएको छ । नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमको सहकार्य तथा ट्राफिक प्रहरी कार्यालय बागलुङको सहयोगमा बागलुङ बजारको सौन्दर्यकरण तथा सवारी आवतजावतमा सहजताका लागि पुराना तार र विद्युतका पोल हटाउने अभियानलाई तिव्रता दिएको हो ।
गत शनिवारदेखि शिवधाराचोकवाट शुरु गरिएको अभियान अन्तरगत सोमवार जिल्ला प्रशासनलाई नजिकका ३ वटा पोल हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए । अव्यवस्थित रुपमा रहेका पोल र तारका कारण बजारभित्र छिर्ने यातायातका साधनलाई समेत असहज भएपछि तार र पोल हटाइएको जानकारी दिदै प्रमुख पाठकले मंगलवार लालीगुराँश बरपरका अव्यवस्थित तार तथा पोल हटाइने बताए । उनले अव शनिवार मात्र नभई अन्य समयमा पनि हटाउन शुरु गरिएको जानकारी दिए । नगरपालिकाले गत वर्ष टेलिकम, विद्युत प्राधिकरण, इन्टरनेट सेवाप्रदायक कम्पनीलाई अव्यवस्थित तार र पोल हटाउन निर्देशन दिएपनि पटक–पटक अवेज्ञा भएको भन्दै नगरपालिकाले तार र पोल हटाउने अभियान शुरु गरेको हो ।
एक वर्षको अवधिमा विद्युत प्राधिकरणले बागलुङ बजारको १ सय ८० थान नयाँ विद्युतका पोल राखेर विद्युतलाई नाङ्गो तार मुक्त गरिसकेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशालीले जानकारी दिए ।





