बागलुङ, २० असोज– बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका पहिरो प्रभावितलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलव्ध गराएको छ । ढोरपाटन नगरपालिकाको बोबाङमा गत भदौ १७ गतेको बाढीपहिरोमा परी ज्यान गुमाएका २२ र १५ जना बेपत्ता गरि ३७ जनाको परिवारलाई ५० हजार रुपैयाँका दरले प्रदेश सरकारले राहत रकम प्रदान गरेको हो ।
त्यस्तै, असार र साउनमा आएको पहिरोमा परी मृत्यु भएका निसीखोलाका र तमानखोला गाउँपालिकाका ५ परिवारलाई राहत रकम उपलव्ध गराईएको छ । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले सोमबार पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत रकम प्रदान गर्नुभएको हो ।
राहत रकम प्रदान गर्दै मन्त्री चुमानले विपदको सामना गर्न सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । ढोरपाटन नगरपालिकाले मृतक र बेपत्ताको तथ्यांक समयमा उपलव्ध गराउन नसकेका कारण पीडितलाई राहत वितरणमा ढिलाई भएको उनको भनाई थियो ।
ढोरपाटनमा पुनस्थापनाको लागि प्रदेश सरकारले आवश्यक काम थालिसकेको भन्दै उहाँले स्थानीयसँग मिलेर बस्ती बसाउने काममा लाग्ने बताउनुभयो । संघीय सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेकाले तीनै तहका सरकारको सहकार्यमा पुननिर्माण र पुनस्थापनाको काम अघि बढ्ने चुमानले बताउनुभयो ।
स्थानीय सरकार र संघ सरकारसँगको समन्वयमा विस्थापितहरुको पुर्नबासका लागि पहल गर्ने भन्दै उहाँले तत्कालको व्यवस्थापनका लागि स्थानीय सरकारलाई आग्रह गर्नुभयो । प्रदेश सरकार पीडितको साथमा रहेकाले शोकलाई शक्तिमा बदल्न उहाँको आग्रह थियो ।
जिल्लाको पश्चिमका ४२ परिवारका लागि प्रदेश सरकारले २१ लाख रुपैयाँ उपलव्ध गराएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो । ढोरपाटनको बोबाङमा पहिरोसँगै आएको बाढीका कारण घरगोठ पुरिँदा बेपत्ता भएकामध्ये २२ जनाको शव फेला परेको थियोभने १५ जना अझै बेपत्ता छन् । ढोरपाटनमा बाढीपहिरोका कारण १ सय ३० घर बिस्थापित भएका छन् ।





