मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

देखिन थाले लामो पुलमा आन्तरिक पर्यटक

देखिन थाले लामो पुलमा आन्तरिक पर्यटक

मर्निङ वाकमा पुग्नेहरु र इभिनिङ् वाक गर्नेहरु पुल घुम्न पुग्ने गरेका छन् ।


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०७७, बुधबार

बागलुङ, २१ असोज– बन्दाबन्दीकै समयमा निर्माण सम्पन्न भएको बागलुङ–पर्वत जोड्ने संसारकै लामो दाबी गरिएको झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । बन्दाबादीपछि भएको निषेधाज्ञा हटेको लामो समयपछि पुलमा आन्तरिक पर्यटक देखिन थालेका हुन् ।
बन्दाबन्दीको समयमा निर्माण सम्पन्न भएको पुललाई लामो समय सर्वसाधारणको प्रवेशमा रोक लगाईएको थियो । बागलुङ नगरपालिकाको पहलमा निर्माण कम्पनीले पुल सर्वसाधारणका लागि खुल्ला गरेपछि घुम्न आउनेहरु बढेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।
‘मर्निङ वाकमा पुग्नेहरु र इभिनिङ् वाक गर्नेहरु पुल घुम्न पुग्ने गरेका छन्’ पौडेलले भने ‘कोरोना त्रासका बीच देखिएको चहलपहल सुखद छ ।’ दशैं तिहारजस्ता पर्वहरु नजिकीएको र मौसममा समेत सुधार आएपछि बागलुङ र पर्वतका गाउँ गाउँबाट पुलमा घुम्न आउनेहरु बढेको पर्यटन पत्रकार समुह बागलुङका अध्यक्ष विजय रानाले बताए । असोज १ बाट सार्वजनिक यातायात खुला भएपछि यो पुलमा थप चहलपहल बढेको उनको भनाई छ ।
बागलुङ नगरपालिकाको रामरेखादेखि छिमेकी पर्वत जिल्लाको पाङ जोड्ने यो पुल ५ सय ६७ मिटर लामो छ । यो सिंगल स्पानको पुल कालीगण्डकी नदीदेखि १ सय ६५ मिटर उचाइमा बनेको छ । सिंगल स्पानमा संसारकै लामो दाबी गर्दै यो पुल गिनिज बुकमा लेखाउने प्रक्रियासमेत नगरपालिकाले थालेको छ ।
यो पुलबाट देखिने दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । प्रसिद्ध कालिका भगवतीको मन्दिर क्षेत्र, कालीगण्डकीको बहाव र दर्जनौ हिम श्रृंङखला देखिने भएकाले पर्यटक लोभिएको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताए । पुलमा पर्यटक देखिन थालेसँगै बागलुङ कालिका मन्दिरमा समेत चहलपहल देखिन थालेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->