बागलुङ, २४ असोज– दुइ वर्षअघिनै कालोपत्रे गर्ने भनिएपनि अलपत्र परेको मध्यपहाडी लोकमार्गको बागलुङ अक्षेते खण्डमा काम थालिएको छ ।
अन्तिम पटक ठेकेदारलाई अवसर दिएकोले कालोपत्रे गर्ने गरी काम थालेको हो । यो खण्डमा ठेकेदारले नाली बनाउने, सडकका खाल्डा पुर्नेलगायतको काम धमाधम गरेको छ । केही स्थानमा बस्तीमा जाने सिंढी पनि बनाइएको छ ।
बागलुङदेखि अक्षेते खण्डको काम अघिल्लो वर्षको कात्तिक मसान्तमा सक्ने जिम्मा लिएको भारत सिद्धीशाही प्रकाश निर्माण कम्पनीले काम थालेको हो । बिहुँ घोडाबाँधे खण्डको जिम्मा लिएको एमपी सूर्य कन्स्ट्रक्सन संयुक्त निर्माण कम्पनीले पनि छिटफुट रुपमा काम देखाएको छ । असारअघि पनि केही काम गरेकोमा वर्षातले रोकिएको थियो ।
अन्तिम अवस्थासम्म गर्छु भन्दै रोकेर समयसिमा कटाएकोले कालोसूचीमा राख्ने की काम सम्पन्न गर्ने भन्ने स्पष्टीकरण लिने तयारी गरेपछि ठेकेदार पक्ष जुर्मुराएको पोखरा बागलुङ रुकुम खण्डका आयोजना प्रमुख आशिष थापा मगरले बताए । जिल्लाभित्रको २५ किमी खण्ड कालोपत्रे नभएपछि यात्रा कष्टकर बन्दै आएको छ ।
काम अलपत्र छाडेकोले वर्षौदेखि सदरमुकामदेखि अक्षेते सुल्डाँडातर्फ यात्रा गर्न कठिन थियो । दैनिक पैदल यात्रीले पनि समस्या भोगेका थिए । बोक्से, खहरे, अक्षेते, सुलडाँडालगायतका स्थानमा पहरो काट्ने भन्दै गत वर्षको दशैअघि एक महिनासम्म सडक अवरुद्ध गरिएको थियो । तर सडक खुलाउन नसकेर छाडेपछि एक वर्ष फेरी लम्बिएको हो । यो खण्डको बोक्से र खहरेक्षेत्रमा अझै सडक हिलाम्मे छ ।
‘काम गर्छु भनेर एक महिनासम्म आवागमन रोकियो, तर कामको प्रगती भएन’ काठेखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष खड्ग थापाले भने, ‘समस्या भएकोले वडामा विकल्पको सडकसमेत बनाएका थियौं ।’ यो पटक काम सक्ने थापा मगरले आशा व्यक्त गरेका छन् । सडक बनाउन लागेकोले नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पनि पाइपलाईन गाँड्ने काम गरेको छ ।
यसअघि पाइपलाईन नसारेकै कारण देखाएर ठेकेदारले काम रोक्नुपरेको दाबी गथ्र्यो । यो खण्डमा पटक पटक मुद्दासमेत परेर पहिलोपटकको ठेकेदारले काम छाडेका थिए । त्यसपछि खानेपानीको पाईप, विद्युतका पोल समेतको समस्या देखाएर ठेकेदार उम्केका थिए । अहिले यहाँ खानेपानीको समस्या समेत हटिसकेकोले कामले गति लिएको हो ।
बागलुङ नगरपालिकाभित्रका केही घरको मुआब्जा दिन बाँकी छ । तर तत्काल उनीहरुको घर नभत्काई सडक मात्र बनाइएको छ । तोकिएको मापदण्डमा भएपनि सडक चौडा पार्न भने ती घरले असर नपारेको थामा मगरले बताए । ‘सरकारले समय मिलाएर मुआब्जा देला भनेर हामीले संरचनामा असर पारेका छैनौ’ उनले भने, ‘ठेकेदारलाई हामीले पटक पटक खोजी गरेपछि मात्र भेट्न सकिएको छ ।’ सदरमुकामकै उपल्लाचौरमा क्रसर उद्योग राखेर गिटी पेल्दै काम सकेरै छाड्ने ठेकेदार कम्पनीका पुष्प शाहीले बताए ।
यसअघि कालोपत्रे गरिएको खण्डमध्ये गलकोट क्षेत्रमा दर्जनौ स्थानमा सडक भाँसिएको छ । उक्त स्थानमा पनि यातयातका साधन गुड्न भने कठिन भएको छ । आयोजनाले उक्त स्थानमा पनि मर्मत गर्नुपर्ने आवाज उठेको छ । नरेठाँटी र दुदिलाभाटीका घुम्तीमा सडक भाँसिएपछि दुर्घटनाको जोखिमसमेत बढेको छ । गलकोट नगरपालिका जनप्रतिनिधिले आयोजनाको ध्यानाकर्षण गराएका छन् । उनीहरुको ध्यानाकर्षणपछि आयोजनाले सडक मर्मतको योजना बनाएको आश्वासनसमेत दिएको छ ।





