बागलुङ, २५ असोज– कोरोना संक्रमणका कारण लकडाउन, निशेधाज्ञा र संक्रमणको जोखिम बढिरहेका बेला महिला हिंसाका घटना भने रोकिएका छैनन् । हिंसामा घटनामध्ये घरेलु प्रकृतिका र यौनजन्य हिंसा धेरै छन् ।
गत चैत ११ गते लकडाउन भएपछिको तथ्यांकमा पनि हिंसाका घटना बढिरहेको देखिएको हो । असोज १५ गतेसम्म प्रहरीको महिला सेवा केन्द्रमा दर्ता भएका हिंसाका घटना धेरै छन् । विभिन्न पालिकाको न्यायिक समिति र महिला सेवा केन्द्र समेतका घटना जोड्दा एक सयभन्दा धेरै घटना पुगेको हो ।
जिल्ला प्रहरी कार्यालयस्थित महिला सेलमा मात्रै ५० बढी उजुरी दर्ता भएको प्रहरी सहायक निरिक्षक अनु राईले बताइन् । उनका अनुसार, मानिसको आवतजावत रोकेको बेला पनि हिंसाको घटना भैरहेका हुन् । सोही प्रकृतिका अन्य घटनाहरु बागलुङ नगरपालिकासहित सबै पालिकाको न्यायिक समितिमा पनि दर्ता भएका छन् । स्थानीय पालिकामा दर्ता भएका हिंसाका घटना मेलमिलाप हुने प्रकृतिका छन् । प्रहरी र सेवा केन्द्रमा आएकाहरु भने अदालतसम्म पुग्ने खालका हुन् ।
लकडाउनको समयमा २५ घरेलु हिंसाका मुद्दा प्रहरीको महिला सेलमा पुगेका छन् । प्रहरीले २४ मुद्दा किनारा लगाइसकेको छ । जर्बजस्ती करणीका १३ र जर्बजस्ती करणी उद्योगका ४ वटा घटना पनि प्रहरीमा दर्ता भएका हुन् । महिला सेवा केन्द्रमा पनि १० वटा महिला हिंसाका घटना दर्ता भएका छन् । हिंसाकै कारण ४ वटा मुद्दामा सम्बन्ध बिच्छेदसमेत भएको केन्द्र प्रमुख सरस्वतीदेवी रेग्मीले बताइन् । बागलुङ नगरपालिकाको न्यायिक समितिमा पनि ९ वटा मुद्दा छन् । अधिकांस घरेलु हिंसाकै भएको कानून अधिकृत नरेन्द्रबहादुर केसीले बताए ।
अघिल्लो वर्षभरि भएका बलात्कारका घटनाभन्दा यो वर्ष लकडाउनकै बेला बढी भएको उनले बताइन् । उनका अनुसार, गत वर्ष ११ वटा मात्रै बलात्कारका घटना भएका थिए । ‘अन्यत्रको तुलनामा थोरै भएपनि जिल्लाको घटनामा बढेको देखिन्छ’ राईले भनिन्, ‘लकडाउन बजारक्षेत्रमा भएपनि ग्रामीण क्षेत्रमा घटना घटिरहेका छन् ।’ अधिकांस घटनाका दोषीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार र विभिन्न हिंसाका गरी २४ वटा मुद्दा जिल्ला अदालतमा पुगेका छन् । लकडाउनको समयमा मुद्दाहरु थोरै परेका थिए । आंशिक खुला भएपछि भने मुद्दाको दर बढेको हो ।
गाउ“पालिका तहका न्यायिक समितिमा भने लकडाउनको बेला खासै मुद्दा परेका छैनन् । ताराखोला गाउँपालिकामा ३ वटा मात्रै मुद्दा परेको उपाध्यक्ष डिलकुमारी पुनले बताइन् । ढोरपाटन नगरपालिकामा पनि मुद्दा छैनन् । ‘केही मुद्दा सोझै प्रहरीमा गएका छन्’ उपप्रमुख करमती पुनले भनिन्, ‘साँधकिलो मिचिएका दुइवटा मुद्दा मात्रै हामीले हेरेका छौं ।’
हिंसाका घटनामा भने छिटो न्याय पाउने आशले धेरैले प्रहरीमा उजुरी गर्छन् । ‘फौजदारी प्रकृतिका मुद्दा प्रहरी र सरकारी वकिलमार्फत अदालत जान्छन्’ जिल्ला न्यायाधिवक्ता सुरेन्द्र काफ्लेले भने, ‘देवानी प्रकृतिका विवाद पालिकामा जाने हो ।’ देवानी प्रकृतिका मुद्दामा प्रायः उजुरी कम हुने गरेको उनले बताए ।





