बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गुणस्तर सुधार्न ‘गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम’

गुणस्तर सुधार्न ‘गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम’

‘सामुदायीक विद्यालयले पाउने सशर्त बजेटले मात्रै शैक्षिक गुणस्तर वृद्धिको आशा गर्न सकिन्न’


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७७, आइतबार

बागलुङ, २५ असोज– नेपाल सरकारले उपलव्ध गराउने सशर्त कार्यक्रमबाहेक स्थानीय तहको नजरमा शिक्षा सुधारका योजना कमै पर्ने गरेका छन् । बागलुङमा पूर्वाधार र गुणस्तर विकासका लागि थोरै बजेटले सम्बोधन हुने शैक्षिक क्षेत्रमा स्थानीय तहको लगानीले खासै उपलव्धी नआएको भन्दै आलोचनासमेत बेला बेलामा हुने गरेका छन् ।
सबैखाले विकासको मेरुदण्ड मानिने शैक्षिक गुणस्तर सुधारलाई बागलुङको बरेङ गाउँपालिकाले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ‘गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ ।
शिक्षासँग सम्बन्धित विभिन्न ६ वटा शिर्षकमा गाउँपालिकाले चालु वर्षमा कार्यक्रम सञ्चालन गर्दैछ । जसका लागि झण्डै तीन करोड रुपैयाँ खर्चिने योजना गाउँपालिकाले बनाएको छ । यो विद्यालयले सशर्त पाउने अनुदान र शिक्षक कर्मचारीको तलब बाहेकको रकम हो । शिक्षक, विद्यार्थी र अभिभावकसँग जोडिएका कार्यक्रमहरु सञ्चालनदेखि पूर्वाधार निर्माणका लागि गाउँपालिकाले आफ्नै कार्यक्रम बनाएको अध्यक्ष कृष्ण प्रसाद शर्मा बताउँछन् ।
‘सामुदायीक विद्यालयले पाउने सशर्त बजेटले मात्रै शैक्षिक गुणस्तर वृद्धिको आशा गर्न सकिन्न’ शर्माले भने ‘सिसाकलम किन्न सक्ने बजेट नहुने विद्यालयले कसरी शैक्षिक सामग्री खरिद गरेर पठनपाठन गराउन सक्छन्, त्यसैले विद्यालयलाई सघाउन हामीले यो कार्यक्रम ल्याएका हौं ।’ विद्यालयको ५० र गाउँपालिकाको ५० प्रतिशत खर्च हुनेगरी विद्यालयहरुसँग शिक्षा शाखाले कार्यक्रम मागेको छ । शैक्षिक पूर्वाधार निर्माण, सञ्चालन, मर्मत र व्यवस्थापन तथा शैक्षिक सामग्रीको पर्याप्तताका लागि कार्यक्रम ल्याईएको शर्मा बताउँछन् ।
गाउँपालिकाले शैक्षिक क्षेत्रको सुधारका लागि फरक अभ्यास र रचनात्मक अभ्यासहरु गर्दै आएको छ । कोभिड–१९ का कारण प्रभावित भएका विद्यार्थीका लागि रेडियो टेलिभिजन कार्यक्रमदेखि अभिभावकलाई सक्रिय बनाउनेसम्मका कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।
‘झण्डै दुई करोड रुपैयाँ पूर्वाधारमा खर्च हुन्छ, अरु रचनात्मक कार्यक्रमको लागि पर्याप्त बजेट बनाएका छौं’ थापाले भने । विद्यालयका भवन मर्मतदेखि रंगरोगन गर्ने, शौचालय मर्मत, सरसफाईलगायतका काममा गाउँपालिकाले सहयोग गर्ने भएको हो । साझेदारीले अपनत्व विकास गराउने र विद्यालयलाई कामप्रति जिम्मेवार बनाउने उनी बताउँछन् ।
गाउँपालिकाले विद्यार्थीबीच पालिका स्तरीय निबन्ध प्रतियोगिता, विद्यालयको सघन अनुगमन, बाल कक्षा सुधार, बालमैत्री शिक्षालगायतका कार्यक्रमलाई पनि प्रथमिकतामा राखेको छ । विद्यालयलाई व्यवहारिक शिक्षामा जोड दिन गाउँपालिकाले बेला बेलामा सुझाउने गरेको छ । बरेङ गाउँपालिकामा ३५ वटा सामुदायीक विद्यालय छन् । विद्यार्थी संख्या धेरै भएका विद्यालयमा शिक्षक दरबन्दी थप र कम भएका विद्यालयमा शिक्षक दरबन्दी कटौती गर्नसमेत गाउँपालिकाले अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->