बागलुङ, २५ असोज– बागलुङ बजारका दुई नीजि विद्यालय डिग्नीटी कलेज एण्ड गरिमा आवासिय मावि र कोरोना एकेडमीबीच एकीकरण गरिएको छ । कोरोना संक्रमण रोक्न गरिएको लकडाउन र त्यसपछि चलिरहेको वैकल्पिक शिक्षाले समेत विद्यालयहरुमा असर गरेपछि दुई विद्यालयबीच एकिकरण गरिएको हो ।
एकिकृत विद्यालयको नाम भने जुरेको छैन । कानुनी प्रक्रिया सुरु भएको र पुरा नहुने बेलासम्म दुवै नाम रहनेगरी सहमति भएको कोरोना एकेडेमीका प्रिन्सिपल चित्र बहादुर घर्तिले बताए । दुवै संस्थाका सञ्चालकहरुको बैठकले विद्यालयहरु एकिकृत गर्ने निर्णय गरेको हो । विद्यालय र क्याम्पसको शैक्षिक गुणस्तर सुधार र विकासका लागि दुई विद्यालय एकीकरण गरिएको एकिकृत समितिका अध्यक्ष पूर्व राज्यमन्त्री रामजी प्रसाद शर्माले वताए ।
दुवै संस्थाका २२ जना सञ्चालक सदस्यमध्येबाट हाल ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । ‘नीजि विद्यालयहरुबीच रहेको अस्वस्थ प्रतिस्पर्धा कम गर्न र शैक्षिक गुणस्तर कायम गर्न मर्जमा गयौं’ शर्माले भने ‘कोभिडको प्रभावले धराशयी भएका विद्यालय जोगाउने प्रयास पनि हो ।’
सञ्चालकहरु एकिकृत भएपछि दुवै विद्यालयका सम्पत्ति, जनशक्तिलगायत सबै अधिकार र दायित्व एकिकृत गर्ने सहमति भएको संस्थाका पदाधिकारी श्याम प्रसाद शर्माले बताए । विद्यालय एकीकरणपछि पूर्व राज्यमन्त्री रामजीप्रसाद शर्माको अध्यक्षतामा सञ्चालक समिति गठन भएको छ । समितिको सचिवमा गणेशप्रसाद शर्मा, क्याम्पस प्रमुख तथा प्रिन्सिपल श्यामप्रसाद शर्मा, सदस्यहरुमा टीकाराम सापकोटा, जीवन आचार्य र भुपाल चालिसे चयन भएका छन् । विद्यालयको सहायक प्रिन्सिपल प्रकाश केसी र चित्रबहादुर घर्ती रहनेगरी सहमति भएको छ ।
दुवै विद्यालयका तत्कालिन सञ्चालकहरुलाई सहभागि गराउने उद्देश्यले विभिन्न उपसमिति समेत बनाईएको छ । आर्थिक समिति गठन गरेर संयोजकमा रेशम सापकोटा, सदस्यमा केदारनाथ पौडेल र रामजी थापालाई चयन गरिएको छ ।
‘नीजि विद्यालयमा भएको लगानी र बालबालिकाको भविश्यका लागि अब सबै एकैठाउँ हुनैपर्छ’ अध्यक्ष शर्माले भने ‘भेगीय हिसावले मिल्ने विद्यालयले एकिकरण गर्नुको विकल्प छैन ।’
यसअघि बागलुङका अर्का दुई निजी विद्यालयबीच एकिकरण भएको थियो । अमृत आदर्श र आदर्श विद्यामन्दिरबीच एकिकरण भएर अमृत आदर्श एकेडेमी भएको थियो ।





