मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

फोहोर उठाउने सहकारीको गाडी प्रहरी नियन्त्रणमा

फोहोर उठाउने सहकारीको गाडी प्रहरी नियन्त्रणमा

केही समयअघि जिल्ला प्रशासनले पनि फोहोर नउठाउन र शुल्क नलिन पत्र पठाएको थियो ।


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०७७, मंगलबार

बागलुङ, २७ असोज– धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाको फोहोर उठाउने गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागलुङ नगरपालिकाको आग्रह गरेपछि प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए । ‘नगरपालिकाले आग्रह गरेपछि हामीले नियन्त्रणमा लियौं’ रेग्मीले भने, ‘जथाभावी शुल्क उठाएको भन्ने आरोप लागेको छ ।’ नगरपालिकाको आदेश आएपछि फिर्ता पठाउन सकिने उनले बताए ।
नगरपालिकाले फोहोर उठाउने सम्झौता तोडिएपछि सहकारीले फोहोर उठाउन नपाउने व्यवस्था बनेकोमा निरन्तर फोहोर उठाएर शुल्क पनि असुल गरेको नगरपालिकाले आरोप लगाएको छ । केही समयअघि जिल्ला प्रशासनले पनि फोहोर नउठाउन र शुल्क नलिन पत्र पठाएको थियो ।
नियन्त्रणमा लिनका लागि आदेश दिएको कुरा भने नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले इन्कार गरे । ‘खै थाहा भएन, किन कसरी नियन्त्रणमा लिइयो’ सुवेदीले भने, ‘बुझेर जानकारी गरौंला ।’
नगरपालिकाले एकतर्फी सम्झौता भंग गरेर सहकारीलाई नोक्सानी पुगेको भन्दै जिल्ला अदालतमा मुद्दासमेत परेको छ । सहकारीले अदालतमा ६२ लाख रुपैयाँको नोक्सानी भराउनुपर्ने र एक वर्ष बाँकी रहेको सम्झौता निरन्तर हुनुपर्ने माग गरेको छ ।
विचाराधिन मुद्दाको टुंगो नलाग्दै ट्रयाक्टर नियन्त्रणमा लिने काम राम्रो नभएको अधिवक्ता राम शर्माले बताए । ‘जथाभावी शुल्क लिएको भए रोक्नुपर्छ, तर फोहोर उठाउनै नपाउने भन्ने भएन’ शर्माले भने, ‘नगरपालिकाले फोहोरको दिगो व्यवस्थापनका लागि काम गरेर सहकारी गलत थियो भन्ने देखाउन सक्नुपर्छ ।’
आफ्नो सवारी साधन प्रहरी नियन्त्रणमा राखेर नगरपालिकाले सहकारीलाई त्रासमा पार्न खोजेको अध्यक्ष सुधिर श्रेष्ठले बताए । ‘हामीले न्याय खोजेका हौं, नगरपालिकाले बल प्रयोग गरेको छ’ श्रेष्ठले भने, ‘नगरपारिषद र राजश्व परामर्श समितिको निर्णय बिना सम्झौता तोड्नुनै गलत छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->