बागलुङ, २८ असोज– कुटपिट, अंगभंग र जालसाजी मुद्दामा जिल्ला अदालत बागलुङले सजाय सुनाएका पाँच जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको सजायपछि फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ र मातहतका इकाईले पक्राउ गरेका हुन् ।
कुटपिट अंगभंग मुद्दामा २०६७ साल जेठ २७ गते जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएका जैमिनी नगरपालिका वडा नं. १० राङ्खानीका श्रीप्रसाद थापा र सोही मुद्दामा २०७१ बैशाख १४ गते दुई वर्ष कैद सजाय सुनाएका ओमकार श्रीषलाई प्रहरीले पक्राउ गरेको हो ।
जालसाजी मुद्दामा २०६६ फागुन ८ गते जनही ४ सय १२ रुपैयाँ जरिवाना तोकिएका जैमिनी नगपालिकाकै वडा नं. २ का ५१ वर्षिय भवे दमाई, ५२ वर्षिया धनी दमिनी र ३८ वर्षिय जंग बहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई मंगलबारनै जिल्ला अदालत पेश गरिएको प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।





