मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

दोष नेतृत्वमा की कर्मचारी संयन्त्रमा ?

दोष नेतृत्वमा की कर्मचारी संयन्त्रमा ?


  • ढोरपाटन संबाददाता
  • असोज ३० २०७७, शुक्रबार

बागलुङ, ३० असोज-गण्डकी प्रदेश सरकार नेकपाको एकल नेतृत्वमा छ । सरकारले नेतृत्व गरेको साँढे २ बर्ष पुगेको छ । यो समयमा स्पष्ट देखिने गरी के काम भयो त ? आम जनताले सोधेको यो प्रश्नमा सत्तारुढ दलका नेताहरु जवाफको साटो कर्मचारीबाट असहयोग भएको आरोप लगाउँछन् ।
प्रतिपक्षी दल कांग्रेसका सांसद भने त्यसको खण्डन गर्दै कर्मचारीबाट नभइ राजनीतिक नेतृत्वको इच्छाशक्ती अभाव भएको टिप्पणी गर्छन् । सत्ता र प्रतिपक्षमा नबसेका सांसदको तर्क अस्तित्वको लडाइले काम नभएको दावी गर्छन् । पालिकाले प्रदेशको नीति नमान्दा मनोमानी बढेको आरोप छ ।
जिल्ला समन्वय समिति बागलुङको बार्षिक समीक्षा बैठकमा बिहिवार उभिएका तीन दलका तीनथरी बिचारले बैठक तरंगीत भयो । कार्यक्रममा पहिलो फोरम पाएका नेकपाका सांसद इन्द्रलाल सापकोटाले संघियता व्यवस्थामा मात्रै भएको र संघले थिचोमिचो गरेर प्रदेशलाई काम गर्न नदिएको आरोप लगाए । ‘कुन राम्रो कर्मचारी प्रदेशमा झ¥र्यो, भएकै कर्मचारीले पनि जनप्रतिनिधिलाई टेर्दैन’ सापकोटाले भने, ‘कर्मचारीले हलो अड्काएर स्थानीय तह र प्रदेश सरकारको काममा अबरोध गरेका छन् ।’ उनले साँढे दुइबर्षको प्रदेश सरकार र तीन बर्षको स्थानीय सरकारले केही परिवर्तन गर्न नसकेको समेत टिप्पणी गरेका थिए ।

संघियतामा घरछेउमै सरकार चलाउन सकिन्छ भनेर आन्दोलन गरेको, जेल गएको दुःख अहिले कामै नभएर आँफै असन्तुष्ट हुनुपरेको उनले बताए । ‘प्रजातन्त्र ल्यायौं, गणतन्त्र ल्यायौै ३० बर्षदेखि यहीं आन्दोलन र जनताको सेवामै छौं, तर जनताले परिवर्तन पाउन कर्मचारीले आन्दोलनको स्प्रिडमा साथ दिनुपर्छ’ उनले भने, ‘कमाउ धन्दामा लागेका जनप्रतिनिधि र त्यही गतिका कर्मचारीबाट काममा अबरोध भएको छ ।’ घर बनाउने लक्ष राखेर राजनीति र जनप्रतिनिधि भएकाहरुबाट बिकासको आस गर्न नसकिने उनले बताए ।

कार्यक्रममा प्रतिपक्ष दलका सचेतक मणीभद्र शर्माले विपक्षी भएर कर्मचारीको बचाउ गरिदिनुपर्ने बिडम्बना सुनाए । ‘संघको सरकार दुइतिहाइ नजिक, प्रदेशको सरकार ठूलो बहुमतको अनि स्थानीय तह अधिकांस प्रगतीशिलहरुकै छ, कर्मचारी संगठनपनि प्रगतीशिलको नेतृत्व भएको बेला काम गर्न कसले अबरोध गरेको छ ?’ कंडेलले भने, ‘प्रेसले समेत कमजोर प्रतिपक्ष भनिरहेको बेला प्रगतीशिलहरु मिलेर देश बनाउन किन नसकेको ?’ उनले कृष्णप्रसाद भट्टराई र बाबुराम भट्टराईको पालामा मात्रै कर्मचारीले उच्च मनोबलले काम गरेको बताए । आफ्नै पार्टी कांग्रेस र नेकपाको नेतृत्वमा पनि कर्मचारीको दोष लगाएर काम हुन नसकेको उनको टिप्पणी थियो ।

कार्यक्रममै उपस्थित भएका राष्ट्रिय जनमोर्चाका नेता तथा प्रदेश मामिला समितिका सभापति कृष्ण थापाले संघियताले बिकासमा अबरोध आएको दावी गरे । उनले तीन तहको सरकार भन्दै एकले अर्काको अस्तित्व अस्विकार गर्ने प्रवृत्तिले बिकासमा बेथिती भएको बताए । ‘स्थानीय सरकार संचालन कार्यविधि बनाउने बेलामा प्रदेश तहका सांसदहरु हरेक पालिकाको आमन्त्रित सदस्य हुने लेखेपनि अहिले सम्म कुनैपनि पालिकाले वास्ता सम्म गरेनन्’ थापाले भने, ‘पालिकाको बिकास होस् भन्दै हामी मन्त्रालयमा बजेट ल्याउन खोज्ने, मेयर र अध्यक्षहरु सप्रियो भने आफ्नो भत्कियो भने प्रदेशको काम भनेर तर्कने गरेका छन् ।’ उनले तीन तहको समन्वय भएमा मात्र संघियताले बिकासमा गति लिने दावी गरे ।

कोरोना संक्रमणले ३७ दिन सम्म आइसोलेसन बस्नु परेकोले समन्वय प्रमुखले ढीला गरी आर्थिक बर्ष २०७६÷०७७ को समीक्षा राखेका थिए । समीक्षामा दशवटै पालिकाले गरेका काम, उनीहरुको समन्वयको अबस्था, संघ र प्रदेश सरकार मातहतका सरकारी कार्यालयले गरेका क्रियाकलाप र समन्वय लगायतको समीक्षा भएको हो । शुक्रवार सम्म चल्ने समीक्षाले बर्षभरीको कमीकमजोरी सच्याएर नयाँ कार्यदिशामा जाने समन्वय प्रमुख राजेन्द्र ढुंगानाले बताए ।
उक्त कार्यक्रममा सहभागि संघिय सांसद मनकुमारी केसीले भने लामो समय सम्म प्रतिनिधिसभा कानून बनाउन व्यस्त भएकोले प्रदेश र स्थानीय पालिकामा भएका कमीकमजोरीमा पुग्न नसकेको बताइन् । उनले पहिलो अभ्यास समेत भएकोले जनताको पक्षमा सकारात्मक भएर काम गर्न सबैलाइ आग्रह पनि गरिन् । उत्तम बिकल्पको रुपमा ल्याएकोले संघियता, समावेशी र गणतन्त्र संरक्षण गर्न राजनीतिक दल र कर्मचारीले मिलेर काम गर्न सुझाइन् । समीक्षामा अध्यक्षता गरेका ढुंगानाले संविधान र कानूनले दिएपनि समन्वय प्रति हेर्ने दृष्टीकोण सकारात्मक हुन नसकेको बताए । उनले तीनवटै तहबाट बिनियोजित बजेट र बिकासको अनुमगन गरेर सुझाव दिएको भन्दै ती सुझाव तीनवटै तहले कार्यान्वयन गरेमा बिकास र सभ्यतामा जिल्लालाई चिनाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->