मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

तोकियो धान काट्ने र न्वागी खाने दिन

तोकियो धान काट्ने र न्वागी खाने दिन

धान काट्नसमेत १८ औं शताव्दीमा चलेका सांस्कृतिक परम्परा पुरा गर्नुपर्छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७७, आइतबार

बागलुङ, २ कात्तिक– बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन तोकिएको छ । बलेवा भूमे कोटअन्तर्गतका सबै वडाका खेतमा लगाईएको धान काट्ने समय तोकिएको हो । जसलाई स्थानीय भाषामा पुली र संस्कृत भाषामा धान्य क्षेदन समेत भनिन्छ । स्थानीय जातको गुडुरा धानका लागि आउँदो कार्तिक १७ गते बिहान ७ लाई शुभ दिन तोकिएको छ ।
पर्वकै रुपमा यो दिनलाई बलेवा क्षेत्रका सर्वसाधारणले मनाउने गरेका छन् । बागलुङ नगरपालिका–१३ पैञ्युपाटाका पं. सुवासचन्द्र पौडेल र ज्योतिष लेखनाथ पौडेलले ज्योतिष शास्त्रका आधारमा धान काट्ने दिन अर्थात् धान्य छेदन पर्वको टुंगो लगाएका हुन् ।
उनीहरुले नयाँ धानको चामल प्रयोग गर्ने पहिलो दिन अर्थात् न्वागी खाने दिनसमेत तोकेका छन् । कार्तिक २७ गते बिहान नयाँ धानको चामल खान सुरु गर्ने दिन उत्तम रहेको ज्योतिष पण्डित लेखनाथ पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । शनिबार घटस्थापनाको दिन बलेवा भूमेकोटअन्र्तगतका ६ वडाका किसानलाई उक्त शुभदिनको विषयमा जानकारी गराईएको छ ।
सधैं बलेवा कालभैरवको मन्दिरमा जम्मा हुने सर्वसाधारणलाई पण्डित तथा ज्योतिषले गरेको निर्णय कोट भैरव गुठी व्यवस्थापन समितिले गराउँदै आएको थियो । यसवर्ष कोभिड–१९ त्रासका कारण सामाजिक सञ्जालमार्फत उक्त दिनको विषयमा जानकारी गराईएको वडा अध्यक्ष नारायण पौडेलले बताए । यहाँका किसानले आफ्नै खेतमा लगाएको धान काट्न समेत १८ औं शताव्दीमा चलेका सांस्कृतिक परम्परा पुरा गर्नुपर्छ ।
साविकका छ वटा गाउँ विकास समितिलाई १८ औं शताब्दीमा बलेवा राज्य मानिन्थ्यो । बलेवा कोटले छ वटै गाविसका किसानलाई धान काट्ने र नयाँ चामल खाने दिन तोक्ने चलन चलेको थियो । बलेवामा बाईसेचौबिसे राजाका पाला विक्रम संवत् १८४२ मा स्थापना भएको बलेवा कालभैरवको इतिहासका अध्ययता डा. आरुणी आचार्यले बताए । दुई सय वर्षअघि चलेको सोही संस्कृति अहिलेसम्म पनि बलेवा क्षेत्रमा कायम रहेको छ ।
‘हामीले जान्दा धान्यछेदन र नवान्न प्रासनको मिती कोटले तोक्ने चलन थियो’ पौडेलले भने ‘अहिले पनि छ वटै गाविसका गन्यमान्य जम्मा भएर मिति तोकिन्छ ।’ नवमीका दिन बलेवा कोटमा विशेष पुजाआजापछि ज्योतिषहरुको समुहले पुली र न्वागीको मिति तोक्ने चलन छ ।
यो वर्ष नवदुर्गामा भेला नहुने भएकाले घटस्थापनाकै दिन समय तोकिएको हो । ‘दिन हेरेर ज्योतिषहरुले कोटलाई दिनुहुन्छ, कोटले घोषणा गर्छ’ बागलुङ नगरपालिका–१२ का वडाध्यक्ष गुरुदत्त पाठकले भने ‘बलेवा क्षेत्रमा यो परम्परा कायम रहेको छ ।’ कोटले तोकेको दिन पुली नलिने र न्वागी नखानेहरु निकै कम छन् । पुली लिएपछि मात्रै धान काट्ने र न्वागी खाएपछि मात्रै नयाँ चामलको प्रयोग गर्ने प्रचलन रहेको छ । ‘कोटले तोकेको दिन सबैले मान्ने गरेका छन्’ पाठकले भने ‘नमान्नेलाई समाजले राम्रो मान्दैन् ।’
वैदिक विधि नपु¥याई धान काट्ने र नयाँ चामल खाँदा प्राकृतिक प्रकोपहरुको सामना गर्नुपर्ने विश्वास रहेको ज्योतिष लेखनाथ पौडेल बताए ।
पुली र न्वागी स्थानीय जातको धानमा मात्रै लागु हुने गरेको भएपनि पछिल्लो समय विकासे हाइब्रिड धानहरु लगाएका किसानले समेत सोही संस्कृति पछ्याईरहेको पौडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->