बागलुङ, २ कात्तिक– कोरोना संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासनले निशेधाज्ञा लगाएपछि दशैको पहिलो दिन घटस्थापनामा बागलुङ कालिका मन्दिरमा भक्तजन गएनन् । गेटमै प्रहरीले डोरी लगाएर प्रवेश रोकेपछि कोही पनि जान नपाएका हुन् ।
अन्य शनिबार धेरै मानिस पुग्ने बागलुङ कालिका मन्दिरमा घटस्थापनाको दिन सयौं पुग्थे । तर प्रशासनले मठमन्दिर र शक्तिपिठहरुमा मानिस जम्मा हुन, पूजा गर्न नपाइने भन्दै शुक्रबार निशेधाज्ञा जारी गरेको थियो । निशेधाज्ञाको जानकारीसमेत नपाएकाहरु बिहानै मन्दिर पुग्दा प्रहरीले रोक लगाएको हो ।
‘मन्दिर पुगेका थियौं, बाटैमा डोरी लगाएको रहेछ, भित्र जान पाइएन’ बानपा १० की दिलमाया पुनले भनिन्, ‘मन्दिरमा चढाउन लगेको सामान गेटैमा दिएर फर्कनुप¥यो, बागलुङ बसाइको क्रममा मन्दिर जान नपाएको पहिलो घटना हो यो ।’
घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बागलुङ कालिका मन्दिरमा पूजा गर्नेको ठूलो भीड लाग्ने गरेको छ । तर कोरोना संक्रमणको कारण गत चैतेदशैमा पनि यहाँ सुनसान भएको थियो । छिटफुट रुपमा मानिसहरु जाने गरेका थिए । यसपटक भने भीड हुने आशंकामा निशेधाज्ञा जारी गरेर प्रहरी खटाएको हो । केही दिनदेखि बागलुङ कालिका मन्दिरसहितका पर्यटकीय क्षेत्रमा चहलपहल पनि बढेको थियो ।
लकडाउन खुकुलो भएपछि मन्दिरमा दैनिक पूजापाठ संचालनमा थियो । ‘दशैंका लागि सरसफाइ, पूजा व्यस्थापन र दुरी कायम गरेर पूजा गराउने तयारी भैसकेको थियो’ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले भने, ‘रोक लगाउनुभन्दा दुरी कायम गरेर दर्शन गर्ने र फर्कने व्यवस्थापन गर्न सकिन्थ्यो ।’ उनले आफ्नो सामाजिक संजालमा पनि निर्मम निशेधाज्ञा भन्दै सुनसान मन्दिरको तस्बिर पोष्ट गरेका छन् ।
निशेधाज्ञाले जिल्लाका अन्य धार्मिक स्थलमा पनि सामान्य प्रभाव परेको छ । तर सबैभन्दा धेरै भक्तजनले पूजा गर्ने कालिकामा बढी प्रभाव भएको हो । निशेधाज्ञा जारी गर्ने विषय भएपनि प्रशासनले सामान्य सोधपुछसमेत नगरेको एक पुजारीले बताए । मन्दिरमा पूजा गर्नका लागि म्याग्दी, पर्वत, पोखरा र चितवनदेखि भक्तजन आउने गरेका थिए ।
निशेधाज्ञाले मन्दिर प्रवेश गर्न नदिएपछि शनिबारै प्रहरीका अधिकृत तथा सेनाका उच्च पदस्थले फोन गरेर मन्दिरमा आउन पाइने नपाइने सोधेका थिए । खड्काले भने मन्दिर सबैलाई खुला भएको जवाफ दिएका थिए । शनिबार पनि धेरै मानिसले गेटमा फूल प्रसाद चढाउने र बत्ति बाल्ने काम गरेर फर्केका थिए ।
बडादशैं र चैतेदशैंमा बागलुङ कालिका मन्दिरमा सयौं भक्तजन आउने गर्छन् । अघिल्लो वर्षको दशैंमा ६ लाख वटा नरिवल चढेको समितिले रेकर्ड राखेको थियो । ‘सबैले चढाएनन्, कोही दोहोरिएर आए होला, तर १५ दिनमा ६ लाख भक्तजन आएको अनुमान गरेका थियौं’ खड्काले भने, ‘भेटी व्यवस्थाबाट संरचना सुधार पनि गरिएको छ ।’





