बागलुङ, ३ कात्तिक– नगरपालिकाको एकल निर्णयबाट सम्झौता भंग गरिएको भन्दै निरन्तर विरोधमा उत्रेको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाले विरोध ¥याली गरेर प्रशासनमा ज्ञापन पत्र बुझाएको छ ।
सहकारीले नियमित फोहोर उठाउन पाउनुपर्ने माग पनि गरेको छ । दैनिक फोहोर उठाइरहेको ट्रिपर प्रहरीले नियन्त्रणमा लिएपछि सहकारीका पदाधिकारीसहित बजारका अन्य व्यवसायी आन्दोलित बनेका छन् ।
आइतबार दिउँसो सहकारीको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेललाई ज्ञापन बुझाएका हुन् । नगरपालिकाले पाँच वर्ष पुरानो सम्झौता एकतर्फी भंग गर्नु गल्ती भएको उनीहरुको तर्क छ । नगरपालिकाले सरकारले ल्याएको साझेदारी कार्यक्रमलाई लत्याइएको समेत टिप्पणी भईरहेको छ ।
बजार क्षेत्रमा व्यवसायी जुटेर नगरपालिकाको कदमको संयुक्त विरोध गरेका हुन् । ‘बजारबासीको फोहोर उठाउने भन्दा पनि हामीलाई अवरोध भयो’ सहकारीका अध्यक्ष सुधिर श्रेष्ठले भने, ‘एकदुई दिन ट्रिपर बिग्रेर बनाउन लाग्दा हामीलाई फोहोर नउठाएको आरोप लाग्यो ।’
सहकारीले ४० करोडको फोहोर व्यवस्थापन योजना ल्याउन लाग्दा नगरपालिकाले अभिभावकत्व ग्रहण नगरेपछि सम्बन्ध बिग्रेको थियो । नगरपालिकाले सम्झौता अनुसार काम नगरेको आरोप लगाएको छ भने सहकारीका पदाधिकारीले कमिसनको खेलमा सम्झौता भंगको आरोप लगाउँदै आएको छ ।





