बागलुङ, ५ कात्तिक– बडा दशैंमा भक्तजनको भीड लाग्ने बागलुङको ताराखोला गाउँपालिका वडा नं. ५ करिमेलामास्थित दुर्गा मन्दिर यसवर्ष सुनसान छ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मन्दिर सुनसान बनेको हो ।
प्रशासनको आदेशलाई मध्यनजर गरेर परम्परागत संस्कृति संरक्षण समिति ताराखोलाले नियमित पुजाबाहेक सर्वसाधारणलाई मन्दिर नजान आग्रह गरेको छ । दशैं र चैतेदशैंजस्ता पर्वमा भीड लाग्ने मन्दिर कोरोनाका कारण सुनसान बनेको स्थानीय खगेन्द्र बिकले बताए ।
मन्दिर व्यवस्थापन समितिले सरकारी पुजा र नियमित पुजापाठको काम मात्रै चलाएको छ । सामान्य अवस्थामा यो मन्दिरमा हजारौंको संख्यामा पशुबली चढाईने गरेको थियो भने दर्शन र पुजापाठका लागि भक्तजनहरु मन्दिरमा पुग्ने गरेका थिए ।
‘आन्तरिक पर्यटनको माध्यम पनि हो मन्दिर, आसपासका क्षेत्रमा कारोवार हुँदा आर्थिक क्षेत्र चलायमान हुन्थ्यो’ गाउँपालिका अध्यक्ष प्रकाश घर्ती भन्छन्– ‘पुजाभन्दा प्राण महत्वपूर्ण हो, कोरोनाबाट जोगिए अर्को वर्ष पनि पुजा गर्न पाईन्छ ।’





