सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

दशैंका बेला वृद्धवृद्धाका हात रित्तै

दशैंका बेला वृद्धवृद्धाका हात रित्तै

‘केटाकेटीलाई दक्षिणा हुन्थ्यो, मन लागेको खान मिल्थ्यो’ बागलुङ नगरपालिका वडा नं. ६ का तुलशीराम आचार्यले भने ‘दशैका बेला भत्ता आएन, खर्चकै समस्या छ ।’


  • ढोरपाटन संबाददाता
  • कार्तिक ७ २०७७, शुक्रबार

बागलुङ, ७ कात्तिक– जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेराकी बसुन्धरा शर्मा एकल महिला हुन् । उनका परिवारमा कोही छैनन् । उमेरले ९० टेकेकी शर्माको सहारा सामाजिक सुरक्षा भत्ता मात्रै हो ।
कुश्मीशेराकै मणिरत्न पाध्या पनि वृद्ध छन् । उनको दम्पतीले सामाजिक सुरक्षा भत्ता पाउन थालेको वर्षौं भयो । अपांगताको निलो परिचय पत्र भएका एक छोरा छन् । तीनै जनाले पाउने सामाजिक सुरक्षा भत्ताले मात्रै उनीहरुको चुल्हो बल्छ । सञ्चित धनसम्पत्ती छैन । काम गर्न सक्ने अवस्था छैन् ।
बागलुङ नगरपालिका वडा नं. ६ का तुलशीराम आचार्यको चाडपर्व खर्च पनि सामाजिक सुरक्षा भत्ता नै हो । यो वर्ष समयमा सामाजिक सुरक्षा भत्ता नआएकाले दशैंका बेला हात रित्तो भएको उनले बताए । ‘केटाकेटीलाई दक्षिणा हुन्थ्यो, मन लागेको खान मिल्थ्यो’ आचार्यले भने ‘भत्ता आएन, खर्चकै समस्या छ ।’ दशैंका बेला आउने भत्ता नआउँदा आँफुहरु मर्कामा परेको जेष्ठ नागरिकहरु बताउँछन् ।
उनीहरु जस्तै बागलुङमा सामाजिक सुरक्षा भत्ताकै भरमा खर्च चलाउने र पर्व मनाउने धेरै छन् । कोरोना कहरका बिचमा पनि गाउँमा दशैंको रमझम छाएको छ । जिल्लाका सबै ठाउँमा धेरथोर लाहुरे आएका छन् । शहर पसेकाहरु फर्किने मेसो गर्दैछन् । गाउँमा दशैं आएको भएपनि बागलुङका दशवटै स्थानीय तहका जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरुले भने यो बर्ष दशैंको अनुभुति गर्न पाएनन् ।
नवदुर्गा सुरु भएपछि सामाजिक सुरक्षा भत्ताको पहिलो किस्ताको रकम बुझेर दशैं मनाउने गरेका उनीहरुको यसपाली हात खाली भएको हो । ‘खै के महामारी भन्छन् पैसा सकेछन र हो कि के हो भत्ता दिएनन्’ कुश्मीसेराकी बसुन्धराले भनिन् ‘हामीजस्ता केहि नभएकालाई त पहिला हेरे हुने नि ।’
बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका यहाँका स्थानीय तहले ढिलागरी रकम निकासा गर्दा बैंकहरुले लक्षित समुदायसम्म भत्ता पु¥याउन सकेका छैनन् । दशैं बिदा सुरु हुने दिनभन्दा दुई दिनअघि मात्रै यहाँका स्थानीय तहले बैंकमा रकम पठाएका छन् । ‘हामीले काम धमाधम गरिरहेका छौं, २५ सय जनाको खातामा अपडेट गरेर एकैदिन पैसा राख्न सम्भव नै छैन्’ एनएमबि बैंक कुश्मीशेरामा कार्यरत भीम शर्मा भन्छन्– ‘ढिलागरी खातामा पैसा आएकाले समस्या भएको हो ।’
जिल्लाको गलकोट नगरपालिकाले वडा नं. १० बाहेक सबै वडामा सामाजिक सुरक्षा भत्ता पु¥याएको छभने बागलुङ नगरपालिकाले केही वडामा मात्रै भत्ता बाँडेको छ । ‘हामीले बैंकमा पठाउने हो, बाँड्ने काम बैंकको हो’ तमानखोला गाउँपालिकाका प्रशासकीय अधिकृत प्रभात लामिछानेले भने ‘ढिलो निकासा आएकाले बैंकले बाँड्न सकेनन् ।’
६० वर्षमुनिका एकल महिला र निलो परिचय पत्र भएका अपांगता भएका व्यक्तिहरुलाई दिईँदै आएको भत्ताको विषयमा सरकारले पटक पटक फेरेको निर्णयका कारण समयमा भत्ता पु¥याउन नसकिएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्की बताउँछन् ।
स्थानीय तहले ढिलागरी निकासा दिने र बैंकको पहुँच वडा तहसम्म नभएका ठाउँमा भत्ता वितरणमा समस्या भएको हो । स्थानीय सरकारले पठाएको पैसा बैंकमा अल्झिँदा दशैंका बेला जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिहरुको हात खाली भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->