सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

अनिष्टको त्रासले जमरा राख्दैनन् माझी समुदाय

अनिष्टको त्रासले जमरा राख्दैनन् माझी समुदाय


  • ढोरपाटन संबाददाता
  • कार्तिक ८ २०७७, शनिबार

बागलुङ, ८ कात्तिक– बागलुङ नगरपालिका वडा नं. १ खनियाबासका रहेको सुन्दर बस्तीमा हिजोआज दशैंको रौनक छ । कालिगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको बसोबास छ । २०४८ सालतिर बागलुङ पोखरा सडक निर्माणका क्रममा बिस्थापित भएका माझी परिवारले दुई वर्ष पहिले नयाँ घर पाएका छन् ।
विस्थापित परिवारका पुस्तौं पुराना घर फेरिए तर संस्कार भने फेरिएका छैनन् । दशैंमा माझी समुदायमा एउटा अनौठो परम्परा छ । दशैंको विशेषता जमरा माझी समुदायले शीरमा लगाउँछन् तर आफ्नो घरमा बनाउन नहुने मान्यता छ ।
दशैंका अक्षतासँग जमरा लगाउने तर आफ्नो घरमा घटस्थापनामा राख्ने चलन भने छैन । ‘हाम्रा परम्परा यस्तै हो भन्ने किंबदन्ती छ, मैले जान्ने भएदेखि जमरा घरमा राखिएको छैन्, मागेर लगाउने चलन छ’ माझी बस्तीका ३३ वर्षिय कृष्ण माझीले भने । आफु जान्ने बुझ्ने भएदेखि दशैको टिका लगाए पनि जमरा राखेको थाहा नभएको उनी बताउँछन् ।
दशैको दिन टिका जमरा त लगाउँछन् तर जमरा मागेर । यस वर्षको दशैमा पनि खनियाबासका माझी समुदायले कसैको घरमा झमरा राखेका छैनन् । माझी समुदायमा परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिएका छन् । माझी समुदायमा अन्य बस्नेले भने जमरा राख्छन् ‘माझी भएपनि हाम्रो माईत त जमरा राख्नुहुन्छ,’ स्थानीय फुलकुमारी माझीले भनिन्, ‘खै कुन्नी किन हो, यहाँ त जमरा नराख्ने चलन रहेछ ।’ ‘जिजुबाजेको पालामा त जमरा राख्थे रे, कुन्नी के हो नराम्रो घटना भएपछि राख्न छाडेको भन्ने सुनिन्छ,’ उनले थपिन– ‘खनियाबास र मालढुंगामा बस्ने माझीहरुले घरमा जमरा नराख्ने चलन रैछ ।’
अर्काको घरबाट जमरा लिएर भएपनि लगाउने, मिठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा छ । जिजुबाजेको पालादेखि नै दशैंका लागि जमरा राख्न छोडिएको ६७ वर्षीय सोमबहादुर माझीको भनाई छ ।
‘जुन वर्ष जमरा राख्यो त्यो वर्ष घरकी कन्याको मृत्यु भएपछि जमरा राख्न छोडिएको किम्बदन्ती छ’ उनले भने– वर्षैपिच्छे जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको हो रे ।’
दशैं मनाउन छोडिएन, त्यसका लागि जमरा चाहियो, अरुलाई मागेर भएपनि दशैं चाहिँ मनाईन्छ,’ उनले भने । अन्यत्रका माझी समुदायले भने जमरा आफ्नै घरमा राखेर दशैमा लगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->