मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

भीरमै सुक्यो बाबियो, दशैमा देखिएनन् पिङ

भीरमै सुक्यो बाबियो, दशैमा देखिएनन् पिङ


  • ढोरपाटन संबाददाता
  • कार्तिक ९ २०७७, आइतबार

बागलुङ, ९ कात्तिक- ‘गाउँभरिका युवा, बुढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याईन्थ्यो, ठुलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैं आएजस्तो हुन्थ्यो’ बागलुङको जैमिनी नगरपालिका १ कुश्मीशेराका बासुदेव आचार्यले पुराना दिन सम्झीए ।
आँफु बाल्यवस्था हुँदाका दिन सम्झँदा उनलाई अहिले पनि त्यस्तै दशैं आए हुन्थ्यो भन्ने लाग्छ । तर अहिले त बाबियो भीरमै सुक्यो, पिङ बनाउने बाँस सुके । एक त पहिले जस्तो युवाहरुको जमात गाउँमा छैन् । अर्कोतर्फ महामारीका कारण गाउँ फर्केका युवासमेत क्वारेन्टीनमा बसेपछि यो वर्ष बागलुङमा पिङ विरलै देखिए ।
रोटेपिङ र चमच्चा बनाउने सिप कसैसँग छैन् । लठ्ठेपिङसमेत यो वर्ष देख्न नपाएको उनले गुनासो गरे । ‘टिका र दक्षिणा संस्कार मात्रै हो, दशैंले त मन जोड्थ्यो’ उनले भने ‘अहिले त मनहरु टाढिएका छन्, चौरीहरु खाली छन् ।’
भीरमा हुने बाबियो बुढाबुढी र केटाकेटीले काट्न सक्दैनन् । बाँस काटेर ठड्याउनका लागि पनि बलिया मान्छे चाहिन्छन् । रोजगारीको शिलशिलमा बाहिर रहेकाले दशैंमा घर फर्किँदा पनि खुलेर रम्न नपाएको सोही ठाउँका जीवनशर्मा बताउँछन् ।
“पहिले पहिले दशैंमा घर आउँदा बाटैमा पिङ हुन्थ्यो, गाडी रोकेरै भएपनि खेलिन्थ्यो, अहिले त बाटोमा देख्नेहरु पनि टाढैबाट बोले’ उनले भने ‘कति निरसिलो दशैं, तारेभीरको बाबियो सुकेहोला, रोहोटेका बाँस नुघे होलान, बाहिर निस्किएको छैन् ।’
साना केटाकेटीका लागि यहाँका स्थानीयले आफ्नै घर छेउमा स–साना पिङ बनाईदिएका छन् । बयस्कहरुले भने यसवर्ष कोरोनाका कारण पिङ खेल्न त के देख्न पनि पाएनन् ।
पहिलेजस्तो जाँगर अहिलेका युवा पुस्तामा छैन् । बुढापाकाले करकाप गरेर बनाईने लठ्ठेपिङसमेत बन्न छोडेको काठेखोला गाउँपालिका–७ का वडाअध्यक्ष प्रेम लामिछानेले बताए । ‘व्यवसायीक रुपमा बनाएका तीनै लठ्ठेपिङमा युवाहरुको ठुलो आकर्षण देख्छु, तर आफ्नो पर्वमा आफ्नै आँगनमा पिङ बनाउन युवाहरुले जाँगर देखाउँदैनन्’ लामिछानेले भने ‘खर्च भएमात्रै सन्तुष्टि मिल्ने विश्वास विकास हुँदा, संस्कारी बन्न सकिएन ।’
लठ्ठेपिङ बनाउन कम खर्चिलो र सिपसमेत सामान्य भए पुग्छ । लठ्ठो बाट्नका लागि केही सिपालुले सिकाएकै आधारमा सकिन्छ भने झुण्ड्याउन मुटु भएका युवा चाहिन्छन् । महामारी र खाली भएका गाउँका कारण यस वर्ष बागलुङमा पिङले ल्याउने रौनक दशैंमा देख्न सकिएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->