बागलुङ, १० कात्तिक– जिल्लाको बरेङ गाउँपालिकाले दशैंअघिनै चालु आवमा सञ्चालन गर्ने पूर्वाधारका योजनाको कार्यान्वयन प्रक्रिया सुरु गरेको छ । गाउँपालिकाले चालु वर्षमा सञ्चालन गर्ने योजनाका उपभोक्ता समिति गठन गरेर सम्झौता प्रक्रिया टुंगो लगाएको हो । फागुनसम्म सबै काम सक्नेगरी उपभोक्ता समितिमार्फत हुने ९५ प्रतिशत कामको सम्झौता भैसकेको प्रमुख प्रसासकीय अधिकृत रमेश थापाले बताए ।
कोरोना महामारीका बिचमा पनि विकास निर्माणका काम नरोक्ने भन्दै गाउँपालिकाले शिक्षाका योजनाहरुलाई प्राथमिकतामा राखेर सम्झौता गरेको छ । ‘शिक्षातर्फका सबै योजना सम्झौता भैसकेका छन्’ थापाले भने ‘अरु योजनाको सम्झौता पनि ५ प्रतिशत मात्रै बाँकी छ ।’ शिक्षातर्फ गाउँपालिकाले २३ वटा योजनामा काम गर्दैछ । विद्यालय भवन निर्माणदेखि शौचालय र तारबारका काम समयमै सकिने थापाले बताए । ठेक्का प्रक्रियामा जानुपर्ने योजनाको लागि दशैंपछि मात्रै काम सुरु हुनेछ ।
प्रत्येक वडा र टोलमै पुगेर योजना सम्झौता गरिएको हो । गाउँपालिकाले पूर्वाधारतर्फ १ सय ८० योजना बनाएर काम गर्दैछ । ‘समयमा काम चल्दा रोजगारी सिर्जना हुन्छ’ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने ‘कोभिड कहरले विदेशबाट फर्केका युवाहरुलाई काममा सहभागि गराउने गरी उपभोक्ता समितिसँग सम्झौता भएका छन् ।’
चालु वर्षमा कृषि, पशु र शिक्षामा जोड दिएको गाउँपालिकाले पूर्वाधारका योजना कम बनाएको छ । ‘साना योजना, समयमा नसकिने र उपलव्धी पनि कम’ अध्यक्ष शर्माले भने ‘हामी प्रभावकारी कामको पक्षमा छौं । विनियोजित बजेटको निकासा नआउँदै काम थालेको गाउँपालिकाले कृषि, पशु, शिक्षा र स्वास्थ्य क्षेत्रमा पहिलो चौमासिकमा गर्नुपर्ने सबै काम सम्पन्न गरेको छ ।
‘सफटवयरका काम पनि हामीले निरन्तरता दिएका छौं, भुक्तानी पछि हुनेगरी निकसा नआउँदै पनि काम भएका छन्’ थापाले भने ‘कार्यक्रम कार्यान्वयन नभएसम्म गाउँपालिका चलायमान बन्न सक्दैन् ।’ यो वर्ष कोभिड प्रभावितलाई रोजगारीमा जोड्दै उत्पादन वृद्धि गर्ने योजनामा गाउँपालिका छ ।





