आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दशैं मनाउन आएका युवामा कोरोना संक्रमणपछि धम्जा गाउँ सिल

दशैं मनाउन आएका युवामा कोरोना संक्रमणपछि धम्जा गाउँ सिल

ती युवक एक साताअघि भारतबाट सदरमुकाम बागलुङ बजार आएका थिए ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०७७, मंगलबार

बागलुङ, ११ कात्तिक – दशैं मनाउन घर आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा गाउँ पाँच दिनका लागि सिल गरिएको छ । दसैं मनाउन घर आएका एक युवामा दसैंकै दिन कोरोना संक्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको वडा अध्यक्ष याम श्रीसले जानकारी दिए ।
क्षयरोग परीक्षण केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा सोमबार भारतबाट आएका युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित युवकलाई धौलागिरी अस्पतालको आइसोलेसनमा पठाइएको छ ।
ती युवक एक साताअघि भारतबाट सदरमुकाम बागलुङ बजार आएका थिए । बजार आएर होम क्वारेन्टिन बसेर केही दिनअघि मात्रै पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । तर, स्वाबको पीसीआर रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिइ आएकाले गाउँ नै संक्रमणको जोखिममा परेको निष्कर्षसहित सिल गरिएको अध्यक्ष श्रीसले वताए ।
स्वाब दिएपछि कुनै लक्षण नभएकाले उनी गाउँमा परिवारका साथ दसैं मनाउन र साथीसंगीसँग गाउँघरका खेलकुदलगायतका कार्यक्रममा पनि सहभागी थिए । कोभिड १९ रोकथाम तथा नियन्त्रण प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले गाउँमा ५ जना भन्दा बढी भेटघाट, भेला  र आवत जावत गर्न नपाउने निर्णय गरेको छ ।
अध्यक्ष श्रीसका अनुसार, मंगलबार साँझ ७ बजेदेखि आगामी कात्तिक १५ गते राति १२ बजे सम्म लागू हुनेगरी दूध, निर्माण सामग्री, खाद्यान्नको अत्यावश्यक बाहेकका सार्वजनिक यातायात, मोटरसाइकल पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ । वडा कार्यालयले यस अवधिमा गाउँबासीलाई घरमै सुरक्षितरुपमा बस्न आग्रह गरेको छ । यस वडामा हालसम्म भारत लगायतका ठाउँबाट आएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->