काठमाडौं, १२ कात्तिक- देशभरको मौसम चिसिदै गएको छ । मौसमविद शान्ति कँडेलका अनुसार, देशभर तापक्रम घट्ने क्रममा छ । अब क्रमश चिसो बढ्दै जाने र पहाडी जिल्लाहरुमा हुस्सु पनि बढ्ने छ । मौसम दुई तरिकाले चिसो हुन्छ । एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर । डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ ।
दिनभर घाम लागेपनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ । बुधबार बिहानको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ११ दशमलब ४ डिग्री सेल्सियस छ । सबैभन्दा कम तापक्रम जुम्लामा १ र डडेलधुरामा ९ दशमलब ५ डिग्री सेल्सियस मापन भएको छ ।
पानी पर्यो भने पनि जाडो बढ्छ । तर अहिले तत्कालै पानी पर्ने सम्भावना भने नरहेको मौसमविद कँडेलको भनाई छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।





