
पोखरा, १७ कात्तिक– गण्डकी स्वास्थ्य निर्देशनालयले कोरोना संक्रमितको उपचारको लागि आइसीयू र भेण्टिलेटरको तत्काल अभाव नभएको जिकिर गरेको छ । आइसीयू र भेण्टिलेटरमा गम्भीर प्रकृतिका बिरामीको उपचार हुन्छ । कोरोनाले सिकिस्त बनाएकाहरुको लागि आइसीयू र भेण्टिलेटर चाहिन्छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले आइतबार प्रदेशमा रहेका आइसीयू र भेण्टिलेटरको संख्या सार्वजनिक गर्दै यो जिकिर गरेका हुन् । उनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बागलुङको धौलागिरी अस्पतालमा ३ वटा आइसीयू र त्यति नै संख्यामा भेण्टिलेटरको व्यवस्था रहेको छ । तीमध्ये २ वटा आइसीयू खाली छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको १९ वटा आइसीयूमध्ये १६ वटा आइसीयूमा बिरामी छन् । अब अस्पतालमा ३ वटा मात्रै आइसीयू बेड खाली छ । त्यहाँ रहेको ५ वटा भेण्टिलेटर भने खाली रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । गोर्खा अस्पतालमा रहेको २ वटा भेण्टिलेटर र एउटा आइसीयू खाली नै छ । यता, पोखरामा रहेको चरक मेमोरियल अस्पतालमा रहेको २४ वटा आइसीयूमा ८ वटा प्रयोगमा आएको छ भने ५ वटा भेण्टिलेटर खाली नै छ । पोखरामै रहेको रिजनल अस्पतालको ५ वटै आइसीयू भरिएको छ भने त्यहाँ रहेको एउटा भेण्टिलेटर खाली छ । पश्चिमाञ्चल सामुदायिक अस्पतालको ६ वटै आइसीयू भरिएको छ भने एउटा भेण्टिलेटर खाली छ । फेवा सिटीमा रहेका ६ वटा आइसीयू र २ वटा भेण्टिलेटर खाली छन् । पार्कल्याण्डको ५ वटै आइसीयूमा बिरामी छन् भने रहेको एउटा भेण्टिलेटर खाली छ । नमस्ते अस्पतालको ५ वटा आइसीयू र एउटा भेण्टिलेटर खाली छ । कास्की सेवा अस्पतालको १० वटा आइसीयूमध्ये ३ वटामा बिरामी छन् । भएको एउटा भेण्टिलेटर खाली छ । मणिपाल अस्पतालमा रहेको ३२ वटा आइसीयू खाली भएको र १५ मध्ये एउटा भेण्टिलेटरमा बिरामी रहेको निर्देशनालयले जनाएको छ । यसैगरि गण्डकी मेडिकल कलेजमा रहेको ४८ वटा आइसीयूमध्ये ७ वटामा बिरामी छन् भने १० वटा भेण्टिलेटर खाली छ । फिस्टेलमा १० वटा आइसीयू र ५ वटा भेण्टिलेटर रहेकोमा ७ वटा आइसीयू प्रयोगमा आएको छ । भेण्टिलेटर खाली छ । मेट्रो सिटीका ४ वटा आइसीयूमध्ये २ वटा प्रयोगमा आएका छन् भने भएका २ वटै भेण्टिलेटर खाली छन् । ग्यालेक्सीको ६ वटा आइसीयूमध्ये ४ वटा र भएको एउटा भेण्टिलेटर प्रयोग भइरहेको छ ।
जिल्ला अस्पतालमा बनेनन् आइसीयू
गण्डकी प्रदेश सरकारले गएको वैशाखमा ११ वटै जिल्ला अस्पतालमा आइसीयू बेड बनाउने घोषणा ग¥यो । यसका लागि १४ करोड रुपैयाँ बजेट विनियोजन पनि भयो । मनाङ र मुस्ताङमा २÷२ बेड र अन्य जिल्लामा ५÷५ बेडको आइसीयू बनाउने भनिए पनि आइसीयू तयार भएकै छैन ।
सबै जिल्लामा सघन उपचार कक्ष (आइसियु) निर्माणका लागि बजेट विनियोजन गरिए पनि निर्माणमा ढिलाई भइरहेको प्रदेश स्वास्थ्य मन्त्तालय स्रोतले जानकारी दिएको छ । गण्डकी प्रदेशका ११ वटै सरकारी अस्पताल मध्ये पोखरामा रहेको अस्पतालमा पहिलेदेखि नै आइसीयू थियो भने धौलागिरि अञ्चल अस्पताल बागलुङमा २ जना कोरोना भाइरस संक्रमित उपचारमा आएपछि रातारात आइसीयू कक्षा स्थापना भएको थियो ।





