बागलुङ, १८ कात्तिक – केही अघिसम्म जिल्लामा लक्षण भएका कोरोना संक्रमित फाटफुट्ट भेटिन्थे त्यो पनि हल्का लक्षण देखिएको अवस्थामा । सामान्य हेरचाह र औषधिले नै उनीहरु निको हुन्थे । कतिपयमा केही दिनमै लक्षण आफै हराएर जान्थ्यो । लक्षण बिनाका सङ्क्रमित हुँदा आइसोलेसनकक्षमा पनि व्यवस्थापन र उपचारको भार कम थियो । चिकित्सक÷स्वास्थ्यकर्मीले नियमित निगरानी गरे पुग्थ्यो । अहिले अवस्था त्यस्तो छैन । लक्षणसहितका संक्रमित भेटिन थालेपछि एकातिर अस्पतालमा चाप बढ्दो छ । अर्कातिर समुदायमा संक्रमण तीव्र हुने हो की भन्ने चिन्ता । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले केही सातायता लक्षणसहितका सङ्क्रमितको सङ्ख्या बढीरहेको बताए । उनका अनुसार कडा लक्षण देखिएका कतिपयमा अस्पताल भर्ना भएपछि मात्र कोरोना पुष्टि हुने गरको छ ।
“आइसोलेसनमा रहनुभएका चार÷पाँच जनालाई अहिले पनि आवश्यकता अनुसार अक्सिजन दिनुपर्ने अवस्था छ, मध्यम र हल्का लक्षण भएकालाई सामान्य औषधि चलाइरहेका छौँ”, उनले भने । यसअघि सघन उपचार कक्ष ९आईसियू० मा राखेर एक जना सङ्क्रमितको उपचार गरिएकामा अहिले अवस्था सुधार छ ।
आजै मात्र भेन्टिलेटरमा उपचाररत बागलुङ नगरपालिका–३ का ६६ वर्षीयको अस्पतालमा निधन भएको थियो । स्वास्थ्य स्थिति जटिल बनेपछि उनलाई एकसातादेखि सघन उपचारमा राखिएको थियो । “अस्पताल आउँदा नै उहाँको स्वास्थ्य अवस्था नाजुक बनीसकेको थियो, अथक प्रयास गर्दा पनि बचाउन सकिएन”, प्रमुख चिकित्सक पोखेरलले भने । संक्रमित अस्पताल भर्ना नहुँदै फोक्सोले राम्रोसँग काम गर्न छाडिसकेको उनको भनाइ छ । अस्पतालको आइसोलेसनकक्षमा अहिले दश जना संक्रमित उपचाररत छन् । आजै पोखरामा उपचार गराईरहेका बागलुङका अर्का पुरुषको पनि मृत्यु भएको छ । उनी लक्षणसहितका विरामी थिए ।
बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले शङ्कास्पद लक्षण देखिएर पनि समस्या लुकाउने, कोरोना नजाँच्ने गरेको पाइएको बताए । “बागलुङ बजारमा अहिले पत्ता लागेका भन्दा दोब्बर सङ्ख्यामा संक्रमित भएको हाम्रो अनुमान छ”, उनले भने, “बिरामी भएर पनि घरमै बस्ने, रोग लुकाउने गरेको भेटिएको छ, कपितयले पोखरा, काठमाडौँ गएर उपचार गराइरहनुभएको छ ।” उनले कोरोना संक्रमणको जोखिम उच्च भएकाले सबैले विशेष सतर्कता अपनाउनुपर्ने बताउनुभयो । लक्षण देखिएमा र कोरोना भएको शङ्का लागेमा घरमै आइसोलेसनमा बस्ने र कोरोना नजाँची बाहिर ननिस्कन जनसाधारणलाई आग्रह गरे । अधिकृत खनालका अनुसार सदरमुकाममा मात्र अहिले ३० भन्दा बढी सक्रिय संक्रमित छन् ।
प्रमुख चिकित्सक पोखरेलले कोरोनाको लक्षण देखिएमा तुरुन्त अस्पताल या स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न आग्रह गरे । “अहिले कडा खालको भाइरस देखा परेको छ, यसले लक्षण पनि निम्त्याउँछ, स्वास्थ्य जटिल बनाउन सक्छ”, उनले भने । गम्भीर लक्षण भएका संक्रमित थपिदैँ जाने हो भने अस्पतालले नै धान्न नसक्ने स्थिति छ । धवलागिरि अस्पतालमा जम्मा तीन शैयाको सघन उपचार कक्ष ९आईसियू० र दुई वटा भेन्टिलेटर छन् । स्थानीय तहमा भएका आइसोलेसनकक्षमा लक्षणविहीन संक्रमितलाई मात्र राख्ने गरिएको छ । जटिल अवस्थाको बिरामीलाई सदरमुकामकै अस्पतालमा ल्याउनुपर्ने बाध्यता छ । प्रमुख चिकित्सक पोखरेलले महामारी रोकथामका लागि हरेक व्यक्ति जिम्वेवार हुनुपर्ने बेला आएको उल्लेख गरे ।
“हामीले लापरवाही गर्यौं भने स्थिति भयावह हुन बेर लाग्दैन, सबैले स्वास्थ्य सुरक्षाका उपाय अपनाऔँ, मास्कको अनिवार्य प्रयोग गरौँ, आवश्यक नपरी घरबाहिर नजाऔँ”, उनले भने, “कोरोना सामान्य हो, केही हुँदैन भन्ने भ्रमबाट मुक्त होऔँ ।” स्वास्थ्य कार्यालयले पनि नागरिक सचेतनाका लागि ‘कोरोना महामारी, मेरो जिम्वेवारी’ अभियान थालेको छ ।
अभियानमार्फत हरेक व्यक्तिलाई आफ्नो परिवार, आफन्त र साथीभाइलाई जनस्वास्थ्य मापदण्ड पालनासम्बन्धी सपथ खुवाउन प्रेरित गरिने कार्यालयका प्रमुख सुरज गुरौले बताए । “मास्कको प्रयोग, साबुन पानीले हातधुने, भौतिक दूरी कायम गर्ने कुरामा व्यक्ति आफैसँग प्रतिवद्ध होस् भनेर सचेतनाको अभियान थालेका हौँ”, उनले भने । कार्यालयका अनुसारमा जिल्लामा अहिले १३२ जना सक्रिय संक्रमित छन् । कुल संक्रमितमध्ये ५५६ जना निको भइसकेका छन् । ६ जनाको मृत्यु भएको छ । हालसम्म झण्डै दश हजारमा कारोना जाँच गरिएकामा ८५ प्रतिशत पुरुष र १५ प्रतिशत महिलामा संक्रमण देखिएको छ ।





