बागलुङ, २४ कात्तिक– बागलुङको तमानखोला गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी र कार्यक्रमहरु बढाएको छ ।
शिक्षाको कारण अवसरमा पछि परेको तथा स्वास्थ्य समस्याको कारण धेरैले अकालमा ज्यान गुमाउनु परेको स्थितिबाट अगाडि बढ्न पालिकाले ती क्षेत्रमा कार्यक्रम केन्द्रीत गरेको अध्यक्ष जोकलाल बुढाले बताए ।
सबै बिद्यालयमा गुणस्तरीय शिक्षा दिने, कम्प्युटर कक्षा संचालन गर्ने लगायतको काममा ४० शिक्षक गाउँपालिकाको कोषबाट राखेर पढाउने व्यवस्था गरिएको छ । त्यसरी पढाउने व्यवस्थापनले शिक्षामा सामान्य सुधार देखिन थालेको शिक्षकहरुले बताए ।
‘पहिला शिक्षक अभावले कक्षा पनि नहुने हुँदा बालबालिकालाई बिद्यालयमा अड्याउन सकिएको थिएन, अहिले वैकल्पिक शिक्षासमेत दिइएको छ’ तमानखोला गाउँपालिका वडा नं. ६ स्थित विष्णु आधारभूत विद्यालयकी शिक्षक दिलिसा छन्त्यालले भनिन्, ‘शिक्षाको सुधारले बालविवाह पनि घटेको छ ।’ गाउँपालिकाले दुइ वर्षसम्म बालविवाहविरुद्ध पनि सामाजिक अभियान चलाएको थियो ।
अभियानको क्रममा बालविवाह गर्दा सार्वजनिक सेवाबाट बञ्चित गर्ने चेतावनी दिइएको थियो । त्यस्तै बालविवाह गर्दा हुने स्वास्थ्य समस्याबारे परामर्श बढाएपछि त्यस्तो परिवर्तन आएको खुंखानी स्वास्थ्य चौकीकी प्रमुख गरिमा हर्मेलले बताइन् । ‘सानो उमेरमा विवाह गर्दा महिलाको स्वास्थ्य समस्या बढ्ने र मृत्युसमेत हुन सक्ने चेतावनी दिएपछि विवाह घटेको छ’ उनले भनिन्, ‘विवाह गर्ने मात्र नभइ त्यसपछि हुने समस्याबारे बुझेर बच्चा जन्माउने क्रम पनि घटेको छ ।’
२० वर्ष मुनिका अधिकांस महिलाले बच्चा जन्माउने गरेकोमा अहिले त्यो क्रम घटेर छिटफुटमा आइपुगेको हर्मेलको दाबी छ । चालु वर्ष २ जना मात्रै २० वर्ष मुनिका महिलाले बच्चा जन्माएको उनले बताइन् ।
स्वास्थ्य सुधारका लागि ५ स्थानमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएका छन् । त्यसका लागि गाउँपालिकाले कम्तिमा एक जना स्वास्थ्यकर्मी र एक कर्मचारी तथा संभव हुने स्थानमा ३ जनासम्म राखेर परामर्श, प्राथमिक उपचार र विकृतिविरुद्धको अभियान चलाइएको अध्यक्ष जोकलाल बुढाले बताए ।
‘स्वाथ्य क्षेत्रमा सुधार ल्याएमा उक्त जनशक्तीले अन्य काम गर्न सक्छ’ उनले भने, ‘सिर्जनशिल क्षेत्रमा युवालाई लगाउनका लागि पनि स्वास्थ्य अवस्था सुधार हुनुपर्छ ।’ शिक्षा र स्वास्थ्यको अवस्था सुधार भएपछि विकास निर्माणले गति लिने उनले बताए ।
तमानखोलाका सबै वडा र मुख्य बस्तीमा सडक संजाल पुगेपछि गर्भवती महिलाले बर्थिङ सेन्टरमा पुगेर सुत्केरी हुन पाएका छन् । अन्य बिरामीले समयमै उपचार सेवा पाएका छन् ।
तमानखोला गाउँपालिकाले विशेषगरी पुराना र जीर्ण भवन रहेका अधिकांस विद्यालय निर्माणमा लगानी गरेको छ । तीन वर्षमा यहाँका दर्जनबढी बिद्यालयका भवन बनेका छन् । नयाँ र जोखिमरहित भवनमा पढ्न पाउने भएपछि बालबालिका पनि खुसी छन् ।
दुइदेखि ८ कोठेसम्मका भवन बनेपछि शिक्षकले पनि ढुक्क भएर पढाउने र बालबालिका रमाउने अवस्था बनेको नर्जाखानीस्थित विष्णु आवासिय विद्यालयका प्रअ ओमप्रकाश छन्त्यालले बताए । ‘अहिले भवन निर्माण गर्दैछौं, बनेपछि पढाइ सहज हुन्छ’ उनले भने, ‘कतिपय विद्यालयमा गतवर्ष भवन बनिसकेका छन् ।’ शान्ति मावि खुंखानीमा दाता समेतको लगानीमा १८ कोठाको पक्की भवन बनिसकेको छ ।
शिक्षा र स्वास्थ्यमा अझै १० वर्षको लगानी आवस्यक भएको बुढाको कथन छ । ‘भूगोल अप्ठ्यारो भएकोले सडक सहज बनाउने योजनासँगै कम्तिमा १० वर्ष शिक्षा र स्वास्थ्यमै लगानी गर्नुपर्छ’ बुढाले भने, ‘त्यसपछि मात्रै सदरमुकाम तहसम्मका विद्यालयको प्रतिष्पर्धी विद्यार्थी उत्पादन गर्न सकिन्छ ।’





