आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एकहप्ते लकडाउन आज मध्यरातीदेखि खुल्ने

एकहप्ते लकडाउन आज मध्यरातीदेखि खुल्ने

स्वास्थ्य मापदण्डमा भने कडाइ गरिने


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०७७, सोमबार

बागलुङ, २४ कात्तिक– कोरोना संक्रमणको संख्या बढ्दै गएपछि बागलुङ प्रशासनले लगाइएको एक हप्ते लकडाउन मंगलबारदेखि खुलाउने भएको छ । प्रशासनले जारी गरेको बिज्ञप्तीमा लकडाउन खुला गरी बिभिन्न स्वास्थ्य मापदण्ड पालना गरेर सेवा सुचारु गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।
बागलुङ उद्योग बाणिज्य संघको आग्रह र बागलुङ नगरपालिकाको सिफारिसमा अघिल्लो साता लकडाउनकालागि प्रशासनमा माग गरिएको थियो । प्रशासनमा बसेको सर्बपक्षिय बैठकको सुझाव लिएर जिल्ला संकट व्यवस्थापन समिति र सुरक्षा समितिले एकहप्ते लकडाउन लगाएको थियो । उक्त लकडाउनको अन्तिम दिन सोमबार प्रशासनले बिज्ञप्ती मार्फत लकडाउन खुलेको जानकारी गराएको हो ।
लकडाउन खुलेपनि प्रशासनले केही बिषयमा भने गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । कोरोना संक्रमणको संख्या दिनदिनै बढेकोले सार्वजनिक स्थलहरु खुल्न नदिने, धेरै मानिस जम्मा हुने काम गर्न नदिने र स्वास्थ्य सुरक्षाका सामाग्री अनिवार्य प्रयोग गर्न पनि आग्रह गरिएको छ । छोटो तथा लामो दुरीमा चल्ने सबारीका सबै यात्रीले अनिवार्य मास्क लगाउने, चालकले सेनिटाइजरको प्रयोग गर्ने र गर्न लगाउने, सामाजिक दुरी कायम गर्ने जस्ता बिषय कडाइका साथ लागू हुने बिज्ञप्तीमा उल्लेख छ ।
कक्षा ११ र १२ को परीक्षा संचालन भएकोे स्वास्थ्य मापदण्ड पालना गर्दै संचालनमा ल्याउने । बैकल्पिक शिक्षण सिकाइलाई व्यवस्थित बनाउने, ट्युसन लगायतका पढाइका माध्यम, डास्सबार, फिल्महल, जिमहल, खेलकुँद गतिविधि र पुस्तकालय समेत संचालन नगर्न भनिएको छ ।
कोरोना संक्रमणको अबस्था देखाएर कालो बजारी गर्ने, कृतिम अभाव सिर्जना गर्ने, औषधिजन्य बस्तुमा जथाभावी मूल्य लिने जस्ता काम भएमा कानून बमोजिम कारवाही गरिने समेत उल्लेख छ । नजिकीएको छठ, तिहार तथा दिपाबली र अन्य चाडपर्वलाई भीडभाड युक्त नबनाउने आदेश समेत छ । यस्ता चाडहरु आँफू रहेकै घरमा बसेर मनाउने, मादकपदार्थहरु जथाभावी बिक्रिबितरण तथा जुवातास पनि नियन्त्रण गर्ने चेतावनी सहित नगर्न आग्रह समेत गरिएको छ । यो बर्ष पटका लगायतका सामाग्री नपड्काउन पनि चेतावनी दिइएको हो । उल्लेखित नियम उलंघन गरेमा संक्रमक ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ आर्कषित भइ कारवाही गरिने पनि चेतावनी दिइएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->