बागलुङ, २५ कात्तिक– धौलागिरिको पहिलो एफएम धौलागिरि एफएम ९८.६ मेगाहर्जले मंगलबारदेखि आफ्नो १६ औँ बार्षिकोत्सव त्रिदिवसीय कार्यक्रमका साथ मनाउन शुरु गरेको छ ।
२०६१ साल कार्तिक २७ गते धौलागिरिमै पहिलोपटक स्थापना भएको एफएमले १६ वर्ष पुरा गरि १७ वर्ष प्रवेशको अवसरमा विभिन्न आन्तरिक, प्रतियोगितात्मक, अन्तरक्रिया, बहस तथा छलफललगाएतका कार्यक्रम गरि वार्षिकोत्वस मनाउन शुरु गरेको हो ।
कार्तिक २५ गतेदेखि २७ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरि मनाउने निर्णय बमोजिम एफएमले पहिलो दिन २५ गते बिहान एफएमबाट साहित्यको विकासका लागि एफएफले खेलेको भूमिकाका विषयमा स्रष्टा सर्जकहरु संगको कुराकानी र दिउँसो राष्ट्रियता, माहामारी र विपत् सम्वन्धी मुक्तक प्रतियोगिता सम्पन्न गरेको एफएम प्रालिका अध्यक्ष हरिनारायण गौतमले जानकारी दिए ।
मंगलबार भएको मुक्तक प्रतियोगितामा २४ जना सहभागीमध्ये सन्तोष चापागाई प्रथम, प्रमिला आचार्य शर्मा द्धितीय र आरबिजी मगर तृतीय भएका कार्यक्रम संयोजक लक्ष्मी परियारले जानकारी दिइन् ।
त्रिदिवसीय कार्यक्रमअन्र्तगत २६ गते धौलागिरि अस्पतालका बिरामीलाई दुध वितरण, संकटमा संचार विषय अन्तरक्रिया, कलाकारहरु संगको अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।
त्यसैगरी, २७ गते नगर र गाउँपालिकाले ३ वर्षमा गरेका ३ महत्वपूर्ण काम समावेश गरिएको धौलागिरि एफएम विशेषांक पत्रिका प्रकाशन, पुरस्कार वितरण, सम्मानसहित मुल समारोह गरिने एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माले जानकारी दिए । विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीका बीचमा पनि एफएमले स्वास्थ्य मापदण्डको पालना गर्दै वार्षिकोत्सव मनाउन शुरु गरेको शर्माले जानकारी दिए ।





