मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

संकटमा सञ्चार टिकाऔं: सांसद केसी

संकटमा सञ्चार टिकाऔं: सांसद केसी


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०७७, बुधबार

बागलुङ, २६ कात्तिक – कोरोना संक्रमणले देशभरका संचार माध्यम संकटमा परेको बेला पत्रकार पनि समस्यामा परेको एक कार्यक्रमका सहभागीले बताएका छन् । संकटमा सामना गर्ने पत्रकार दिगो रुपमा टिक्ने र संघर्ष गर्न नसक्नेले पलायन बन्नुपर्ने समेत सहभागीले बताए । पत्रकारले मेहेनत गरेर पलायन हुने अवस्थाबाट अगाडि बढ्न पनि उनीहरुको सुझाव थियो ।
धौलागिरी एफएम प्रालि बागलुङको १६ औं बार्षिकोत्सवको अवसरमा बुधवार आयोजित ‘संकटमा सञ्चार’ बिषयक अन्तरक्रियामा सहभागीले पत्रकारितालाई बलियो बनाउने अभियानमा राज्य र राजनीतिक नेतृत्वनै पटक पटक चुक्ने गरेको टिप्पणी समेत गरे । धौलागरी एफएम प्रालिका अध्यक्ष हरिनारायण गौतमले नेतालाई सधै पत्रकार चाहिने तर उनीहरु कसरी बाँचेका छन् भन्ने जान्नु नपर्ने प्रवृत्ति बढेको टिप्पणी गरे ।
‘बर्षेनी करोडौं रकम साझेदारी बिकास कार्यक्रम मार्फत खर्चने सांसदले समेत पत्रकारको पेशा बचाउन परियोजना बनाउन सकेनन्, पत्रकारको लेखनवृत्तिमा रकम खर्चन सकेका छैनन्’ गौतमले भने, ‘२५ हजारको लेखन वृत्ति पाएर खोजी पत्रकारितामा कोही लाग्न सक्दा उसको जीवन सफलतामा जान सक्छ ।’ उनले बर्षमा २० लाख मात्रै लेखनवृत्तिमा लगाउन सकेमा जिल्लाकै सफलताको क्षेत्रमा योगदान पुग्ने बताए ।
प्रतिनिधिसभाकी सदस्य मनकुमारी केसीले नेतृत्वहरुको सुझबुझपूर्ण कामबाट मात्रै देशको बिकास संभव हुने भन्दै त्यसका लागि संचार क्षेत्रले सधै सकारात्मक रुपमा घचघच्याउनुपर्ने बताइन् । उनले पत्रकारिताको सन्देशबाटै बिकास योजना, कृषि, शिक्षा, स्वास्थ्य र अपांगता जस्ता क्षेत्रमा काम भैरहेको पनि बताइन् । ‘पत्रकारले आँखा देखाएकै कारण धेरै बजेटहरु सदुपयोग हुन थालेका छन्, अझै ससक्त कमलबाट देशले मुहार फेर्नेछ’ उनले भनिन्, ‘नेतृत्वमा आएका कमीकमजोरी पनि सच्चिन संचार माध्यमले साथ दिएका छन् ।’
केसीले वर्तमान सरकार संचालक र नेतृत्वको बिकल्प नभएको पनि बताइन् । उनले बुढ्यौलीका भएपनि नेतृत्वले अझै चुनौतीको पहाड फोड्ने लक्ष राखेको भन्दै सरकारलाई सांकेतिक रुपमा साथ दिन आग्रह गरिन् । संचार माध्यमको साथबाट सरकारले थप बिकास र समृद्धि भित्राउन सक्ने उनको धारणा थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले संकटमा संञ्चार बिषयक अवधारणा पत्र पेश गरेका थिए । अवधारणामा पत्रकार महासंघका सचिव राम थापा अविरल, कोषाध्यक्ष बिजय राना, पत्रकार प्रकाश बराल, सुवास गौतम लगायतले टिप्पणी समेत गरेका थिए । एफएमका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, अन्तरक्रिया कार्यक्रमका संयोजक कोपिला कंडेलको संचालन र स्टेशन प्रमुख उमाकान्त शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->