सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

चेतना अभिवृद्धिमा रेडियोको भूमिका महत्वपूर्ण: नगरप्रमुख पौडेल

चेतना अभिवृद्धिमा रेडियोको भूमिका महत्वपूर्ण: नगरप्रमुख पौडेल

धौलागिरी एफएमको १६ औं बार्षिकोत्सव समापन समारोह


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०७७, बिहिबार

बागलुङ, २७ कात्तिक – बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सञ्चार माध्यमले समाजको यथार्थ चित्रण गर्नुपर्ने वताएका छन् । धौलागिरी एफएमको १६औं बार्षिकोत्सव मुलसमारोह तथा पुरस्कार वितरण कार्यक्रमलाई विहिवार सम्वोधन गर्दै नगरप्रमुख पौडेलले पछिल्ला दिनमा केही मिडियाले आफ्नो दायित्वलाई विर्सेर भ्रम सिर्जना गर्ने काम गरेको उल्लेख गर्दै त्यसबाट सञ्चार माध्यम मुक्त हुनुपर्नेमा जोड दिए ।
समाजको सकरात्मक चेतना अभिवृद्धिमा रेडियोको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नगरप्रमुख पौडेलले जिम्मेवार पत्रकारितामा धौलागिरी एफएम अब्बल रहेको वताए । राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणको संवाहक सञ्चारमध्यम भएको भन्दै उनले समाजको वास्तविक समस्याहरु सञ्चार माध्याम मार्फत उजागर हुँदा सकारात्मक परिवर्तनमा टेवा पुग्ने वताए । देशमा भएका राजनीतिक परिवर्तनमा दलहरुसंगै अग्रमोर्चामा सञ्चार माधम रहेको स्मरण गर्दै पौडेलले हरेक नागरिकको पहुँचमा सूचना पुग्नुपर्ने वताए । स्थानीय सरकारले सञ्चालन गर्ने गतिविधि र त्यसको प्रभावका बिषमा सञ्चार सामग्री बन्दा सरकार र जनता बिचको दुरी नजिक बनाउन सहज हुने उनको धारणा थियो । पौडेलले सरकारका काम र जनताका अपेक्षा बिचमा सञ्चार माध्यमले खेल्ने भुमिका महत्वपूर्ण हुने बताए । सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले नागरिकको सूचना पाउने अधिकार कुनैपनि बाहनामा कुण्ठीत हुन नहुने बताए । सञ्चार माध्यमले सरकारले बनाएका बिधिको बिषयमा जानकारी गराउँदा सर्वसाधारणसम्म सूचना सहजरुपमा पुग्ने भन्दै सहायक प्रजिअ पौडेलले सञ्चार क्षेत्रको भूमिकामा धौलागिरी एफएमले अगुवाई गरेको बताए । कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले चुनौतीका बिचमा गुज्रिरहेका सञ्चार माध्याम र सञ्चारकर्मीको हितमा हुनेगरी राज्यले कुनै कार्यक्रम नवनाएको गुनासो गरे । उनले व्यवसायीक पत्रकारिता, समय अनुसारको परिवर्तन र जनसाधारणको चाहना अनुसारको सञ्चार सामग्री बन्नुपर्नेमा जोड दिए ।
उद्योग बाणिज्य संघ बागलुङका कार्यवहाक अध्यक्ष उमाकान्त शर्मा बाबुले संचार उद्यम पनि व्यवसायको एउटा पाटो भएको भन्दै सञ्चार माध्यामले व्यवसायीक उन्नयनका लागि गरेको योगदान गरेकोमा प्रशंसा गरे । धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले स्वास्थ्य क्षेत्रको बिकास र महामारीको समयमा सञ्चार माध्यमले दिने सन्देशले ठुलो सहयोग पु¥याएको बताए । एफएमका अध्यक्ष हरिनारायण गौतमले थप जिम्मेबारी बोधकासाथ रेडियोका सामग्री उत्पादन र प्रसारण गरिने बताए । सो अवसरमा खुला मुक्तक प्रतियोगितामा प्रथम सन्तोष चापागाई, द्वितिय प्रमिला आचार्य शर्मा र तृतिय आर विजी मगरलाई नगद सहित पुरस्कार प्रदान गरिएको थियो । मुल समारोहको सञ्चालन कार्यक्रम प्रस्तोता तारानाथ आचार्यले र स्वागत एफएमका सम्पादक तारा प्रसाद शर्माले गरेका थिए । एफएमले बार्षिकोत्सवको अवसरमा बुधवार लोकसंस्कृतिको संरक्षणमा धौलागिरी एफएमको भूमिका, महामारीमा शिक्षा विषयक शैक्षिक वहस, विपतमा सञ्चार विषयक अन्तरक्रिया र धौलागिरी अस्पतालका विरामीहरुलाई स्वास्थ्यलाभको कामना गर्दै तातो दुध वितरण गरेको थियो । बार्षिकोत्सवको पहिलो दिन मंगलवार खुला मुक्तक प्रतियोगिता र धौलागिरीको साहित्य प्रवद्र्धनमा स्रष्टाहरुको भूमिका विषयक अन्तर संवाद कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->