
बागलुङ, २८ कात्तिक– यतिबेला कोरोना संक्रमणले कुनैपनि सार्वजनिक काम गर्न रोक लगाइएको छ । मठमन्दिरुमा भीड गर्न नपाउने प्रशासनको उर्दी छ । ताराखोला गाउँपालिका वडा नं. २ अर्गलमा हरेक बर्ष मनाइने भुसपोल्ने र छापोहाल्ने पर्व भने सिमित मानिसको उपस्थितिमा गरिएको छ ।
उनीहरुले पाहुना नडाकी घरपरिवार मिलेर पर्व मनाएको बताए । बर्षभरीको पितृ कार्य गरेर खेतीपाती थाल्नु पर्ने भएकोले ताराखोला गाउ“पालिकाका अर्गली मगरले कोरोना संक्रमणको समयमा पन िछापो हाल्ने पर्व मनाएका हुन् ।
हरेक बर्ष कात्तिक २४ गते भुस पोल्ने, २५ गते पितृ कार्य गरेर २६ गते छापो हाल्ने यहाँको पुरानो चलन हो । यो पर्व मनाएपछि बर्षभरीकालागि काजक्रिया छुट हुने, बिबाह लगायतका कर्म गर्न बाटो खुल्ने स्थानीय भीमबहादुर घर्तीले बताए ।
यहाँ कात्तिक अन्तिम साता पितृकार्य सकेपछि हिउँदे खेतीका लागि काम थाल्ने चलन छ । हिउँदे खेती थाल्नु अघि उनीहरुले छापो हाल्ने पर्व मनाउने गरेका हुन् । कोरोना कहरले भेला नहुने व्यवस्था भएपनि उनीहरुले छोटो समयमा पाहुना नडाकी यो पर्व बनाएको बताए । यसका लागि अबिवाहित युवायुवती गाउँ आउँछन् । बुढापाकाले साझा बनाइएको शंखुवारीमा जौं झरेपछि युवायुवतीले सामुहिक रुपमा खन्छन् । यसरी खन्न आएका युवायुवतीले राम्रो बरबधु पाउने विश्वास छ । बुढापाकाले छापो हाल्नका लागि बीउ छर्दा भकारीमा सहकाल आउने विश्वास गर्छन् ।
पछिल्लो समय युवाहरुले एकबर्ष सम्म काजक्रिया गर्ने चलन हटाएका छन् । कर्मचारी, शिक्षक, बैदेशिक रोजगारीमा जानुपर्ने जस्ता समस्याले हरेक महिनाको २६ गतेलाई दोष फुकाउने मिति तोकिएको स्थानीय कुलबहादुर घर्तीले बताए । ‘दाह्री कपाल काट्न नहुने, पुलपुलेसा तर्न नहुने समस्याले युवाहरुमा समस्या आयो, त्यसैले अहिले काजक्रिया छोटो बनाइएको छ’ उनले भने, ‘बर्षभरीको सामुहिक क्रिया भने कात्तिक २६ गतेनै गरिन्छ ।’ अहिले धेरै युवाहरु पढ्ने लेख्ने काम गर्छन् । त्यसैले उनीहरुले लामो समय सम्म क्रिया बसेर समय बिताउन नचाहेपछि बुढापाकालाई समेत राखेर यो चलन बसालेका हुन् ।
सयौं बर्ष पहिले पाल्पाको अर्गलीबाट बसाई सरेर आएर मगरहरु बसोबास गर्न थालेपछि यो गाउँको नाम समेत अर्गल रहेको किंबदन्ती छ । आएका मगरले खोरिया फाँडेर झारपात पोलेको सम्झनामा हरेक बर्ष कात्तिक अन्तिम साता भुस पोल्ने मेला गरिंदै आइएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । घामको झुल्को सँगै विभिवत पूजा गरेर भुस पोलेको तेस्रो दिन पितृ कार्य समाप्त हुन्छ । त्यसपछि जन्मउत्सव लगायतका धार्मिक र खुसीयालीका काम थालिने घर्तीले बताए ।





