बागलुङ, २८ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट इञ्जिनियरहरुको संगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोशियसन अफ नेपाल (पिन) बागलुङको सपथ ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार बागलुङ बजारमा सम्पन्न भएको छ ।
तत्कालिन एमाले र माओवादी केन्द्रका बिचमा एकतापछि बनेको जनवर्गिय संगठन पिनको नयाँ कार्यसमितिले सपथग्रहण गरेको हो । सपथग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले विकास प्रशासन र सामान्य प्रशासनका बिचमा रहेको बिभेद हटाउनुपर्ने बताए ।
देश विकासका लागि दुवै प्रशासनको भूमिका महत्वपुर्ण हुने भन्दै सापकोटाले दुई समुहमा रहेका समस्याहरुको समाधानका लागि आँफु निरन्तर लागिपरेको दाबी गरे । प्रदेशसभा बैठकमा कयौं पटक आवाज उठाएको स्मरण गर्दै सापकोटाले विकास प्रशासन र समान्य प्रशासन समुहमा रहेको बिभेदका कारण विकास निर्माणका काममा समेत प्रभाव पर्ने गरेको बताए ।
चाडपर्वलाई मध्यनजर गरि आत्मियता, सामिप्यता, भाईचारा बढाउदै बागलुङ जिल्लामा छरिएर रहेका इन्जिनियरहरुबीच परिचय र सम्बन्ध स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पिन बागलुङका अध्यक्ष विमल आचार्यले बताए । आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निलाम्वर आचार्यले स्वागत र सचिव भुवन पौडेलले सञ्चालन गरेका थिए ।





