पोखरा, २९ कात्तिक– कञ्चनपुर देवकोट नगरपालिका–४ सिसैयाका खुशीराम चौधरी तिन वर्षिय होटल म्यानेजमेन्ट पढन् पोखरा आए । चिनजानको एक सरसंगको सहयोगले पोखरामा प्राविधिक शिक्षालयमा पढने सपना बोकेर आएका उनी प्राविधिक शिक्षा लिएर बेरोजगार बस्नुपर्ने अवस्था नआएकोमा खुशी छन् । थारु समुदायका खुशीराम चौधरी छात्रवृति पाउन सफल भएकोमा खुशी मात्रै छैनन्, त्यत्तिकै गर्व पनि गर्छन । अहिले उनी पोखरा–१८ को वाटर फन्ट रिर्सोटमा रोजगारमा आवद्ध छन् ।
अहिलेका युवाहरु धेरै पढ्े पनि वेरोजगार वस्नुपर्ने बाध्यता छ । तर प्राविधिक शिक्षा रोजगारको सेतु हुन्छ भन्ने कमैलाई मात्रै थाहा छ । ‘धेरैले युवाहरु पढेर बेरोजगार बस्नु परेको छ, बैदेशिक रोजगारका लागी खाडीमा धाउनुपर्ने बाध्यता छ’, चौधरी भन्छन, ‘प्राविधिक शिक्षा लिनेहरु भने बेरोजगार बस्नु पर्दैन्, कामको लागि भौतारिनु पनि पर्दैन् ।’
प्राविधिक शिक्षा लिनेहरुलाई कामका लागि अध्ययन गर्दादेखि नै अनुरोध आउने गर्दछ । ‘हामी इन्टनशिप गर्न जहाँ जान्छौ त्यतिबेलादेखि नै कामका लागि अफर आउन सुरु हुन्छ ।’ चौधरीले भने । उनले अहिले मासिक २५ हजार तलव पाउछन् । उनको बुझाईमा अहिलेको आवश्यकता भनेकै प्राविधिक शिक्षा हो ।
पोखरा–५ प्रस्याङका निशान थापाले पोखरा टे«ड महलमा क्युव कफी एण्ड क्याफे संचालन गरेका छन् । उनले सन २०१६ मा पोखरा प्राविधिक शिक्षालयमा होटल म्यानेजमेन्ट पढदै गर्दा उनलाई आफनो व्यवसाय संचालन गर्ने उर्जा जागेको हो । उमेरले २३ वर्षिय थापाले सुरुमा १५ लाख लगानी गरेर क्याफे संचालन गरेका थिए । अहिले भने क्याफेमा लगानी बढाउदै ५० लाख पुराएका छन् । उनी स्वरोजगारमा रमाएका छन् ।
पोखरा प्राविधिक शिक्षालयबाट तिन वर्षिय अप्थाल्मिक साइन्स अध्ययन गरेकी पोखरा–१९ की प्रकृति ढुङगानाले पनि ६ महिना हिमालयन आँखा अस्पताल पोखराको इन्टनशिप पछि नै बेनीको आँखा अस्पतालमा काम गर्छिन । ‘यो करिकुलमबाट आत्मनिर्भर बन्न सकिन्छ, लगनशिल भएर पढ्यो भने संभावना धेरै छन् ।’, ढुङ्गानाले भनिन्, ‘प्राविधिक शिक्षालयमा अध्ययन गर्न चाहनेलाई कडा मिहिनेतले नै सफलतामा पुराउछ ।’ सवैले मन लगाएर प्राविधिक शिक्षा पढ्न उनको सुझाव छ ।
वि.सं.२०५३ सालमा स्थापना भएको पोखरा प्राविधिक शिक्षालयबाट ३ वटा ब्याचले पढाइ सकेका छन । शिक्षालय प्रमुख हर्कलाल श्रेष्ठका अनुसार त्यहाँबाट ७४ जना दिक्षीत भएका छन् । छोटो समयका व्यावसायिक तालीमहरु सिलाइ कटाइ, बुटिक, ब्युटी पार्लर लगायतमा हालसम्म ८ हजार ७ सय जना लाभन्वित भएका छन् ।
आँखा अस्पताल पनि योसंगै जोडिएको छ । जसमा ४० जना विद्यार्थीहरु अथाल्मिक साइन्स पढेर केहीले आफनो व्यवसाय सञ्चालन गरेका छन् भने केहीले रोजगारी पाएका छन् । प्राविधिक शिक्षाले रोजगार, स्वरोजगार र बैदेशिक रोजगारमा समेत ग्यारेन्टी गर्ने प्रमुख श्रेष्ठले बताए ।
‘हामीसगै आवद्ध ७५ प्रतिशतले रोजगारी पाएको अवस्था छ भने केही स्वरोजगार बनेका छन ्।’ शिक्षालय प्रमुख श्रेष्ठले भने, ‘सिपको सदुपयोग गरेर बैदेशिक रोजगारमा गएकाहरु पनि सिप अनुसारको रोजगार पाएको अवस्था छ ।’ पोखरा पर्यटकीय नगरी भएकोले यहाँका अधिकांश युवाले होटल म्यानेजमेन्ट पढन चासो दिएका छन् ।
नेपाल सरकारले देशभर सबै युवाहरु रोजगारमा जोडिनुपर्छ भन्ने मान्यताका साथ प्रविधिक शिक्षा स्थापना गरेको हो । श्रेष्ठका अनुसार गण्डकी प्रदेशका मनाङ बाहेक १० जिल्लामा प्राविधिक शिक्षालय स्थापना भई समतामुलक पहुँचका लागि प्राविधिक शिक्षा संचालन हुदै आएको छ ।
श्रेष्ठका अनुसार पोखरा प्राविधिक शिक्षालय फूलबारीमा तीनवर्षे होटल व्यवस्थापन अन्तर्गतका कुकिङ, हाउस किपिङ, फ्रन्ट डेस्क, फुड एन्ड वेभरेजमा पढाइ हुनेगर्छ । होटल व्यवस्थापनमा ४० जना, तीनवर्षे प्रमाणपत्र तह अप्थाल्मिकमा ४० जना, १८ महिने प्रि डिप्लोमा इन कुलिनरी आर्टमा ९ जना, कुकिङमा २० जनाले अध्ययन गर्न पाउने कोटा छ । जसमा जेहेन्दार विद्यार्थीका लागि ४ वटा आरक्षण कोटा छुट्याएको छ ।





