बागलुङ, २ मंसिर– हङकङको जोर्डनस्थित क्यान्टोन रोडमा रहेको नेपाली रेष्टुरेष्टमा आइतबार बेलुकी भएको आगलागीमा परेर ७ नेपालीको मृत्यु भएको छ । घटनामा १८ जना घाइते छन् ।
मृत्यु हुने र घाइतेसमेत बागलुङको काठेखोलाका छन् । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ६ बिहुँका दुई जना र उनीहरुको परिवारका सदस्यहरु समेत भएको छिमेकीहरुले बताएका छन् । जन्मदिनको पार्टीका लागि भेला भएका पारिवारिक समूहले रमाइलो गरिरहेको बेला अचानक रेष्टुरेन्टमा आगलागी भएको थियो ।
मृत्यु हुनेमा काठेखोला गाउँपालिका वडा नं. ६ का ३८ वर्षिय युवराज कंडेल, उनकै १३ वर्षकी छोरी कृतिका, युवराजकै बहिनी ज्वाई ३५ वर्षका राजबाबु नेपाल र उनकै ९ वर्षको छोरा रायन रहेको वडा नं. ५ का अध्यक्ष शिवप्रसाद कंडेलले बताए । उनले हङकङका आफन्तले दिएको जानकारीको आधारमा चार जनाको मृत्यु भएको र अन्य केही गम्भिर रहेको सूचना प्राप्त भएको बताए । घाइते पनि काठेखोला ६ का धेरै छन् ।
आगलागी कसरी भयो भन्ने अहिलेसम्म खुलेको छैन । तर घटनामा परेर ७ जनाको मृत्यु हुनुको साथै १८ जना घाइते भएका थिए । घाइतेहरुमध्ये केहीको अवस्था गम्भिर छ भने केही सामान्य घाइते छन् । सबैजना स्थानीय अस्पतालमा उपचाररत भैरहेको हङकङबाट प्रकाशित नेपाली अनलाईनले लेखेका छन् । घटनामा झ्यालबाट हामफालेर ज्यान बचाउन सफल भएका सागर कंडेलले दमकल, प्रहरी र अन्य क्षेत्रमा सूचना दिएका थिए ।
मृतक युवराजका बाबु जयलालले सदरमुकामस्थित जय होटल संचालन गरेका थिए । छोराहरुले हङकङ बस्ने योजनासहित आइडी कार्डसमेत बनाएपछि जयलालका दम्पत्ति पनि उतै जाने योजनामा थिए । मृतक युवराज हङकङमा थिए भने उनका दाजु गिरी क्यानडामा थिए । सबैजना एकै ठाउँ बस्ने योजनाले बाबुआमा नेपालबाट जाने र दाजु क्यानडाबाट आउने योजना थियो । तर नेपालबाट गएका केही मानिसमा कोरोना संक्रमण देखिएपछि बाबुआमा जान पाएका थिएनन् । दाजु गिरी भने पुगेर क्वारेन्टाइनमा बसेकोले उक्त जन्मोत्सव पार्टीमा सहभागि थिएनन् । सहभागि नभएको कारण उनी सुरक्षित रहन सफल भएका छन् ।
घटनामा उनीहरुकै नातागोता र छिमेकीसमेत गरी १८ जना घाइते भएकोले उपचार भैरहेको बताइएको छ । बागलुङकै कृष्ण कंडेल उनका श्रीमती र छोरीसमेत घाइते छन् । उनीहरुको तीन दिनदेखि होस नखुलेको सूचना पाएपछि परिवारका सदस्य चिन्तित भएका छन् ।
हङकङ नेपाल डटकमले सार्वजनिक गरेको सूचना अनुसार घटनामा शेरबहादुर गुरुङ, अनिता निरौला, बिनिता तामाङको पनि मृत्यु भएको छ । उक्त घटनामा गीता कंडेल, मुकेश श्रेष्ठ, हस्तमाया धिमाल, सुबिरा थापा, कृष्ण कंडेल, देवकी कंडेल, सुतेक्क्षा कंडेल शालिग्राम कंडेल, सुमन गुरुङ घाइते छन् । युवराजकी ३ वर्षकी छोरी भने सकुशल रहेको बताइएको छ ।
हङकङस्थित नेपाली दुतावासले नेपालीहरु रहेको स्थानमा घटना भएको सूचना प्रवाह गरेपनि औपचारिक रुपमा मृतकको परिवारमा सूचना दिइसकेको छैन । नेपाली क्यालेन्डर अनुसार तिहारको बिदा परेकोले पनि सूचना प्रवाहमा ढिलाई भएको हुनसक्ने मृतकका छिमेकीहरुले बताए । घटनामा परेका पीडितको लागि परोपकारी संस्था सिक किस युनले १० लाख डलर सहयोग गरेको छ ।





