बागलुङ, ५ मंसिर– परम्परागत खेती प्रणालीले घरखर्च र वर्षभरिको गुजारा नचलेपछि विदेशिनेको भीडमा एकाध युवाले भने आफ्नै माटोमा अवसर खोजिरहेका छन् । गाउँमा काम गर्ने जनशक्ति छैन । हिजो आफ्नो लागि वर्षभरि खाने आफै उव्जाउनेहरुले अहिले तरकारीसम्म घरमा उव्जेको खाँदैनन् ।
विप्रेषणको सहयतामा घर चलाएकाहरुलाई गाउँमा तरकारी उत्पादन गरेर बिक्री गर्ने हो भने त्यहिं आम्दानीको बाटो बन्छ । त्यस्तै अवसर छोपेका छन् बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका यामप्रसाद शर्माले । उनले आफ्नो मकै, कोदो र गहुँ फल्ने बारीलाई तरकारीको बगैंचा बनाएका छन् । शर्माले तरकारी खेती सुरु गरेको १५ वर्ष भयो ।
परिवार पाल्न र केही बचत गर्नसमेत उनले तरकारीबाटै पु¥याएका छन् । शर्माले चार रोपनी जग्गामा तरकारी खेती गरेका छन् । बन्दा, काउली, प्याज, लसुन, गोलभेडा, केराउजस्ता तरकारीका साथै प्याज, बन्दाकाउलीका बिरुवासमेत उत्पादन गरेर बिक्री वितरण गर्नु उनको दैनिकी हो । शर्मा भन्छन् ‘तरकारीसँग मेरो गहिरो साईनो छ, बिरुवा हुर्किँदा फुर्किन्छु, ओईलाउँदा आँफै बिरामी परेजस्तो हुन्छ ।’
घर खर्च, तरकारीका बिरुवा उत्पादनदेखि बजारीकरण सम्मको सबै खर्च कटाउँदा वार्षिक दुई लाख रुपैयाँ खुद नाफा गर्ने गरेको उनले सुनाए । ‘विदेश गएको भए बिटो आउँदो हो तर, आफ्नो बारीमा काम गर्दाको मज्जा बेग्लै छ’ उनले सुनाए ।
शर्माको कृषि पेसामा उनकी श्रीमती सन्तु पौडेलले पनि साथ दिएकी छन् । ‘अब कृषिमै भविष्य खोज्ने हो’ ४६ वर्षिय शर्माले भने– ‘आफ्नो माटोलाई सिंचाई गर्दै गर्वका साथ कृषक भनेर परिचय दिने गरेको छु ।’ उनले उत्पादन गरेको बेमौसमी तरकारीको बजार गाउँमै छ । मौसम अनुसारका तरकारी भने बागलुङ बजार पठाउने गरेका छन् ।
उत्पादित कृषि उपजको बजारीकरणमा समस्या नभए पनि मेहेनत अनुसारको पारिश्रमिक पाउन कठिन भएको उनको गुनासो छ । बजारमा बिचौलियाले गर्ने मोलमोलाईले शर्माको मन सधैं पोल्छ । काठेखोला गाउँपालिकाबाट अहिलेसम्म ५० हजार अनुदान लिएका शर्माले औजार र प्रविधिको सहयोग पाए अझै उन्नत तरिकाले तरकारी फलाउन सकिने बताए ।
उनको तरकारी बारीमा रासायनिक मलको प्रयोग निषेध गरेको शर्माको भनाई छ । ‘कहिलेकाहीँ कमिलाको विषादी र डडुवाको औषधीबाहेक अन्य रासायनिक विषादी प्रयोग गर्दैनौ’ उनले भने– ‘गाईँ भैँसीको मल र गहुँत खेतीलाई पुग्छ ।’ अर्गानिक उत्पादन भएपनि बजारमा भने भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने उनको गुनासो छ ।





