पोखरा, ७ मंसिर– सामुदायिक रेडियो हिमचुली एफएमका संस्थापक इञ्जिनियर लेखबहादुर गुरुङको निधन भएको छ । पोखरा इञ्जिनियरिङ कलेजका संस्थापकसमेत रहेका लेखबहादुरको शनिबार पोखराको निधन भएको हो । उनी पछिल्लोसमय अस्वस्थ थिए । उनको दुबै मृगौला फेल भएर निधन भएको पारिवारिक स्रोतले जनाएको छ । हालको वालिङ नगरपालिका वडा नम्बर १३ जन्मेका उनको जीवन संघर्षले भरिएको छ । सन् १९७१ मा भैरहवाको पक्लिहवा स्कूलबाट एसएलसी गरेका उनले पुल्चोक इञ्जिनियरिङ कलेज र भारत गएर अध्ययन गरेका थिए ।
उनकै पहलमा २०५८ सालमा हिमचुली एफएमको स्थापना भएको थियो ।सुशासनको लागि नागरिक समाज कास्कीका संस्थापक अध्यक्षसमेत रहेका उनी सुशासन चाहन्थे । सुनासले प्रदान गर्ने सुशासनसम्बन्धी पुरस्कारका संस्थापक पनि उनै हुन् । यातायात व्यवसायीदेखि नापीको खरदार अनि इञ्जिनियरिङ क्याम्पसका प्राचार्यसम्मको उनको यात्रा आफैमा रोमाञ्चक मात्र थिएन, प्रेरणादायी पनि रहेको थियो । बेलायती सेनामा उमेर नपुगेर भर्ती नभएपछि उनी पढाईतिर सोझिएका थिए । सामान्य परिवारमा जन्मेका उनलाई उनकी आमाले बढो दुःखका साथ पढाएकी थिइन् । कम बोल्नु र आफ्नो जिम्मेवारी पूरा गर्नु उनको विशेषता थियो । उनका श्रीमतीसहित २ छोरा रहेका छन् ।





