बागलुङ, ७ मंसिर– नेपालका राजनीतिक परिवर्तनले धेरै व्यवस्थामा सुधार र परिवर्तन ल्याएको छ । तर तमानखोलामा बालिघरे कटुवाल प्रथा कायमै छ ।
कटुवाल बस्नेले र स्थानीय बासिन्दाले पनि यो पेशालाई परम्परागत र पुख्र्यौली पेशाको रुपमा संरक्षण गरिरहेका छन् । तमानखोला गाउँपालिका वडा नं. ३ को तमान गाउँमा यो पेशालाई आम भेलाबाटै संरक्षण गर्ने चलन बसालेका छन् ।
पुख्र्यौली पेशा भएपनि एउटै परिवारमा भने सिमित छैन । बरु हरेक वर्ष बस्ने आम भेलाले कटुवाल फेर्न सक्ने व्यवस्था गरेको छ । हरेक चारचार वर्षमा भने कटुवालको म्याद सकिन्छ । त्यसपछि अर्कोले पेशा सम्हाल्छ । एकैजना दोहोरिने चलन छैन ।
यसरी आमभेलाबाट चुनिने कटुवालले बर्षभरी हुने पूजा, मेलापात र अन्य सार्वजनिक कामको सूचना दिने गरेका छन् । गाउँभरी मनाइने पूजापाठ, मेला महोत्सव, उधौली, उभौली, कुलपूजा र सार्वजनिक काममा लगाइने झरालोका लागि कटुवाल लगाउने गरिएको छ । गत वर्ष म्याद सकिए पनि ४५ वर्षका रुपलाल बुढा अहिले कटुवालको रुपमा छन् । कोरोना भाइरसको संक्रमणको डरले गाउँभेला बस्न नसकेपछि थपिएको म्यादमा उनले काम गरिरहेको बताए ।
तमान गाउँका ३ सय ५० बढी घरमा उनले नियमित सूचना दिने गर्छन् । कटुवाल बस्नेल यहाँका ९ वटा स्थानमा पुगेर सूचना दिनुपर्छ । चर्को डाँको, सक्रियता र समयमै सूचना दिन सक्नेलाई गाउँभेलालले कटुवाल चुन्ने गरेको स्थानीय मनकुमारी बुढाथोकीले बताइन् । अन्यत्र हुने सूचनाबाहेक तमानगाउँमा खेतीपातीको समय सुरु भएको, खेती लगाएपछि गाइवस्तु छाड्न नपाइने र खेती थन्क्याएपछि खेतबारी खुला भएको सूचना पनि उनैले दिने गरेका छन् ।
तमानखोला गाउँपालिका वडा नं. ३ मा अधिकांस मगर र दलितको बसोबास छ । बाहुनक्षेत्री छँदैछैनन् । बाहुनक्षेत्री नभएकोले पात्रो हेर्नेहरु उस्तो भेटिंदैन । सबैभन्दा नजिकको बुर्तिवाङ बजार यहाँबाट २५ किमी टाढा छ । त्यहाँका रेडियो पनि सुनिंदैन । त्यसैले कटुवाल प्रथालाई अन्त्य गर्नु साटो समय सुहाउँदो बनाएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।

katuwal baglung
बालिघरे भएपनि अहिले एकदुई पाथी अन्नको रुपमा नभइ नगदमा पारिश्रमिक दिने गरिएको हो । कटुवाल बसेबापत उनीहरुले हरेक घरबाट बर्षको २ सय रुपैयाँ कर तिर्नुपर्छ । त्यही रकम कटुवालले पाउने गरेका छन् । यहाँ अझैपनि टेलिफोनको समस्या बाँकी रहेकोले कटुवाल प्रथा प्रभावकारी भएको बुढाथोकीको भनाई छ ।
सरुन लागेको बेला घर छाउन नहुने, बाँस काट्न नहुने, गोठ सार्न नहुने चलन छ । ती जानकारीसमेत कटुवालले सूचना दिन्छन् । गोठ सार्ने बेला पनि सरुनको बढी उपयोग हुने गरेको छ । केही वर्षअघिसम्म मकै र कोदो दिने चलन थियो । अन्न उठाउन र संकलन गर्दाको झण्झटपछि नगदमै कारोवार गर्न थालिएको उनले बताए । नगद पाएपछि कटुवाल बस्ने पनि खुसी भएका छन् ।
‘नगद आएपछि चाहेको खाद्यान्न किनेर खाने र घरपरिवारमा आवस्यक पर्ने सामग्री किन्न पनि सजिलो भयो’ बुढाले भने, ‘वर्षको ७३ हजार नगद संकलन भएपछि घरको काम पनि चल्छ ।’ गाउ“पालिकाले यहाँको स्थानीय नीति नियमलाई पनि सम्मान गरेको छ । समाजको पुरानो चलन भएकोले सूचना दिने कामलाई सहयोग गरेको गाउ“पालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
खेलकुद प्रतियोगिता, कुलो सोहोर्ने, पंचायत बस्नेजस्ता काममा पनि कटुवाल लगाउने गरिन्छ । तमानमा छिटफुट रुपमा पंचायत बस्ने चलन छ । दशकदेखि भने यहाँ पंचायत बसेको छैन । तत्कालिन पंचायतको घर भने स्थानीयले संरक्षणको योजना बनाएका छन् । ‘पंचायतघर संरक्षण गर्न खोजेका छौं, यसले वर्तमान कानून विपरितका काम भने गर्दैन’ स्थानीय भेषबहादुर पुनले भने, ‘कटुवाल प्रथा भने हामीलाई आवस्यकता छ, निरन्तरता दिन्छौं ।’ कृषि र पशुपालन गर्नेहरुले पनि तिथीमिति र नक्षेत्र, शुक्रको अबस्था हेर्न चाहने भएकोले कटुवाल प्रथा नरोकिने उनले बताए ।





