केपी ओली पक्षधरको गढमा आएर पाण्डेले ओली समूहसँग यही परिस्थितिमा सम्झौता नगर्ने सन्देश प्रवाहित गरेका छन् ।
पोखरा, ७ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे पोखरा आएका छन् । चितवनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट दुव्र्यवहार खेपेलगत्तै पोखरा आएका उनी यहाँको एक होटलमा बसेका छन् । पोखरा आउनासाथ उनले आफूपक्षीय नेता÷ कार्यकर्तासँग भेटघाट गरेका छन् । भेटघाटको क्रममा उनले कार्यकर्ताहरुसँग पार्टीमा आफूहरुले विधि र पद्दतिको कुरा उठाएको बताउँदै त्यो विचारमा आफू अडिग रहेको बताएका छन् । ‘उहाँले विधि र पद्धति अनुसार पार्टी चल्नुपर्छ भन्ने कुरा राख्नुभयो, स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गर्दै पार्टीलाई एकतावद्ध बनाउनुपर्छ भन्ने नै उहाँको विचार हो’, उनीसँग भेट गरेका एक नेताले ढोरपाटन दैनिकसँग टेलिफोनमा भने,‘पार्टी अब एकल निर्णयमा चल्दैन भन्ने कुरा नै उहाँको बटमलाइन भएको पायौं ।’ स्रोतका अनुसार उनले आफू निकट नेताहरुसँग पार्टी फुटाए पनि ओली पक्षधरबाटै फुट्ने जिकिर पनि गरेका थिए ।
ढोरपाटनसँग टेलिफोनमा संक्षिप्त कुरा गर्दै उनले आफूमाथि चितवनमा भएको दुव्र्यवहारलाई कसैले पनि निको नमानेको बताउँदै नेता÷कार्यकर्तासँग भएको भेटघाट सामान्य रहेको प्रतिक्रिया दिए । तर, स्रोतका अनुसार चितवनबाट केपी ओली पक्षधरको गढमा आएर उनले ओली समूहसँग यही परिस्थितिमा सम्झौता नगर्ने सन्देश चाहिँ प्रवाहित गरेका छन् । पोखरा व्यक्तिगत काममा आएको भनिए पनि उनले आफू आउँदै गरेको जानकारी पार्टीका सबै तहका नेताहरुलाई दिएका थिए ।
उनलाई भेट्न पूर्वएमालेमा माधवकुमार नेपाल समूहका भनेर चिनिएका गण्डकीका नेताहरु तुलबहादुर गुरुङ, चुडामणि जंगली, नेकपा कास्कीका सह–इन्चार्ज श्रीनाथ बराल लगायतका नेताहरु पुगेका थिए । स्थायी कमिटीका सदस्य आउँदा नेता कार्यकर्ताले भेट्नु स्वभाविक भएको बताउने नेकपा कास्कीका इन्चार्ज राजकाजी गुरुङ चाहिँ काठमाडौं थिए । पूर्वमाओवादी खेमाका नेता÷कार्यकर्ताले पनि नेता पाण्डेसँग भेटेको स्रोतले बताएको छ ।





