पोखरा, ९ मंसिर- कोभिड–१९ को नियन्त्रणमा गण्डकी प्रदेश सरकार असफल भएको छ । गरीबले पैसा तिरेर पनि गर्न नसकेको कोरोना लागेर ४÷५ दिन हस्पिटल बस्दा १२ लाख र १५ लाख खर्च भयो भनेर जनप्रतिनिधिहरुले बोलिरहेको स्थिति जुन छ,यो अत्यन्त विकराल स्थिति छ । नेपाली कांग्रेसले यो स्थितिको परिकल्पना धेरै पहिले गरेको थियो । मान्छेहरुले हामीलाई जिस्क्याए । ‘एक घर एक पीसीआर’ भन्यो, नेपाली कांग्रेसले । मान्छेहरुले ‘५ लाख ७५ हजार घर भएको ठाउँमा एक घर एक पीसीआर कसरी गर्न सक्छौ ?’ भने । एउटा पीसीआर गर्न १५ हजार रुपैयाँ लाग्छ भने । हामीले १५ हजार लाग्दैन थोरै लाग्छ भन्दाखेरी अहिले २ हजारमा त गरिँदो रै’छ नि त ! त्यो २ हजारमा गरिने कुरा १५ हजारमा किन गरियो, त्यो १३ हजार कसले खाएको रहेछ ? किन १५ लाग्यो,अहिले २ मा किन गरियो ? कसले खायो ? यो प्रश्नको उत्तर हामी संसदमा माग्छौँ । हामीले त्यतिबेला नै रिश्वत र भ्रष्टाचारबाहेको मूल्य भन्नुहोस् कमिसन बाहेकको मूल्य भन्नुहोस्, कम्तिमा यसमा कमिसन नखाइदिनुहोस् भनेका थियौँ ।मुख्यमन्त्रीज्यूलाई हामीले बहुत शालीन र शिष्ट भाषामा कोभिडको समस्या छ, यो नेकपाको सरकारले गर्नुपर्छ भनेर त्यतिधेरै हामी पूर्वाग्रही भएनौँ । किनभने यो नयाँ विमारी छ। अमेरिका, बेलायत, युुनियनजस्ता ठूला देशले गर्न नसकको कुरा सीमित स्रोत र साधन भएको हाम्रोजस्तो देशले गर्न सक्दैनौँ भन्ने हामीलाई थाहा थियो । तै पनि हामीले एक घर एक पीसीआरका कुरा,आइसोलेसनका कुरा, भेण्टिलेटरका कुरा, अक्सिजनका कुराहरु आजभन्दा ७ महिना अगाडि उठाएका थियौं । त्यतिबेला कांग्रेसका कुरालाई हास्याष्पद रुपले लिइयो,मजाक बनाइयो । संकल्प प्रस्ताव ल्याउनु प¥यो । त्यतिबेला ज–जसले हात उठाएर संकल्प प्रस्तावको विपक्षमा मतदान गर्नुभएको थियो, तिनै साथीहरु कोरोनाका कारण आइसोलेसनमा बसेर ‘तपाईंले त समयमै चिन्नुभएको रहेछ । तपाईँले त मेरा लागि बोल्नु भएको रहेछ, म अहिले आइसोलेसनमा छु,मैले बेड पाइन’ भनिरहनु भएको छ । सरकारले चारैतिर बेड छ, आइसोलेसन छ भनिरहँदा तपाईँहरुकै छापाका आएका छन् । यस्तोमा कि उहाँहरु ( सत्तापक्ष) ले भनेका कुरा गलत छ कि तपाईँका छापामा आएका कुरा गलत छन् । छापामा गलत कुरा आउनुपर्ने हामी देख्दैनौँ । यस्तोमा सरकारलाई बढी जिम्मेवार बनाउने,हामी नेपाली कांग्रेसका माननीयहरुले यही २ करोड पनि (निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम) कार्यक्रममा नराखौँ कोरोना कोषमा राखौं, अहिले नबाडौं भन्यौँ तर सरकारले मानेन । म तपाईंहरुलाई एउटा पीडाको कुरा सुनाउँछु । म आफै स्थानीय तहको सेवा सुविधाको कुरा गर्दा म कार्यव्यवस्थामा हुँदा स्थानीय निकायका जनप्रतिनिधिहरुलाई सेवा–सुविधा दिनुपर्छ तर यो कोरोनाले त्राहीमाम् बनाएको बेलामा जनप्रतिनिधिहरुलाई पैसा दिने कुराले जनतालाई झन बढी पीडा दिन्छ नगरौँ भनेँ । स्थानीय तहका जनप्रतिनिधिहरुले पहिल्यैकै मितिबाट पाउनुपर्छ सेवा सुविधा पाउनुपर्छ भन्ने सवालमा पनि तिमीहरुले खान हुने हामीले नहुने ? भन्ने कुरा भयो । त्यसो भए, एउटा गेस्चर गरेर मैले लेखा समितिको सभापतिको सभापतिको रुपमा पाउने गाडी कोरोनाको लागि प्रयोग गरौँ भने । तपाईंलाई आश्चर्य लाग्ला, मैले प्रदेशसभामा जुन दिनदेखि गाडी छाँडे र असोज मसान्तसम्म पनि एक मिनेट त्यो गाडी प्रयोग भएन । त्यो गाडी प्रदेशसभा कार्यालमै थन्कियो ।यो गैरजिम्मेवारीको पराकाष्टा हो । नेपाली कांग्रेसका सभासदले के भन्यौँ भन्दा, लकडाउनको बेला ट्याक्सी र गाडी चल्दैन । बस र ट्याक्सी चलनेपछि ट्याक्सी र गाडी नचल्ने बेला यातायात भत्ता लिनु भनेको अनैतिकता हो भनेर नेपाली कांग्रेसका पन्धैजना सभासदले यातायात भाडावापत्को भत्ता फिर्ता गरेर कोरोना कोषमा राख्यौँ । एउटा प्रयत्न हामीले ग¥यौँ ।
अहिले मुख्यमन्त्रीज्यू (पृथ्वीसुब्बा गुरुङ)सँग यहाँका जनता बचाउनेभन्दा पनि महत्वपूर्ण काम सरकार बचाउने छ । (उहाँ ) बालुवाटारमै सुतिरहनु भएको हुनसक्छ ।
अहिले आएर हेर्दा मुख्यमन्त्रीज्यूले, सामाजिक विकासमन्त्रीज्यूले, सरकारले सदनमा जे–जे बोल्यो, आइसोलेसन राख्यौँ, भेण्टिलेटर राख्यौँ भनियो र प्रत्येक व्यक्तिलाई स्वास्थ्य सुविधा दिन्छु भनेर भनेको सम्झँदा त, अहिले बिरामी मान्छेले उपचारको लागि पोखराभरका अस्पताल चहार्दा बेड नपाएको र ४ लाखदेखि साढे ४ लाखको हेलिकोप्टर रिजर्भ गरेर , ज्यान बचाउन घरबार नै बेच्नुपर्ने भयावह स्थिति छ । यो स्थितिमा हामी छलफलमा छौँ । यस्तो अवस्थामा सरकारलाई सहयोग पनि गर्ने हो,सरकारलाई अनुरोध पनि गर्ने हो र सरकारलाई बाध्य पनि पार्ने हो, आफूसँग भएको स्रोत र साधन लगाएर कोरोनाको विरुद्धमा लड्न । त्यो भनेको सदन हो । अहिले नेपाली कांग्रेसले, अहिलेको निर्वाचनमा विशेष अधिवेशन बोलाउने सामथ्र्य यो प्रदेशमा मात्रै दिएको छ । अरु प्रदेशमा त विशेष अधिवेशन बोलाउने २५ प्रतिशत सांसदको भोलुम नेपाली कांग्रेससँग छैन । त्यसैले त्यो शक्ति लगाएर भए पनि सरकारलाई विशेष अधिवेशन बोलाउन लगाएर कोरोनाको बारेमा बस्तुस्थिति अध्ययन गर्ने, संयुक्त संसदीय समिति बनाएर उनीहरु( सरकार) ले भनेको आइसोलेसन हेर्न जाने, भेण्टिलेटर, बेड र अक्सिजन हेर्न जाने र बढीभन्दा बढी जनतालाई सुविधा कसरी दिने भन्नेतर्फमा नेपाली कांग्रेस त्यो बाटोमा लाग्नेवाला छ । अहिले मुख्यमन्त्रीज्यूसँग, बालुवाटारमा, यहाँका जनता बचाउनेभन्दा पनि महत्वपूर्ण काम सरकार बचाउने छ । बालुवाटारमै सुतिरहनु भएको हुनसक्छ । उहाँको सुताई, त्यहाँको समस्या समाधान भइसकेपछि पोखरा आउनु भएपछि एक चरणमा वार्ता गरेर, वार्ताबाटै सबै समस्याको समाधान गर्नुभयो भने संसदको विशेष अधिवेशन बोलाइ राख्नु परेन,नभए संसदको विषेश अधिवेशन बोलाएर भए पनि यो साझा समस्या, साझा सत्रुको विरुद्धमा लड्ने अभियानमा छौं । नेपाली कांग्रेसले यो भयावह अवस्था आउँछ भनेर पहिल्यै सचेत थियो । मैले संसदमा विशेष प्रस्ताव दर्ता गर्दा पनि‘मैले बोलेका कुरा झुटा भए मै बढी खुसी हुन्छु’ भनेको थिएँ तर दुर्भाग्यवस हामीले बोलेको कुरा सत्य सावित भयो । त्यो सबैको लागि दुर्भाग्य बन्यो । अहिले प्रत्येक परिवार संक्रमित भइरहेको छ,प्रत्येक परिवार पीडामा छ । यसकाविरुद्ध नेपाली कांग्रेस गम्भीर छ । अहिले यसलाई राजनीतिक मुद्दा बनाएर नेपाल कम्युनिष्ट पार्टीको सरकारले केही गर्न सकेन भनेर राजनीतिक लाभ लिनेतर्फ गयौं भने पनि यो दुर्भाग्य हुन्छ । राम्रो हुँदैन । सरकारसँग मिलेर, सरकारलाई पनि विश्वास दिलाएर, नेकपा, कांग्रेस, समाजवादी, जनमोर्चा एक भएर कोरोनाविरुद्ध लड्नको लागि हामी उत्प्रेरक बनेका छौँ ।
( गण्डकी प्रदेशका सार्वजनिक लेखा समितिका सभापति तथा नेपाली कांग्रेसबाट गण्डकीमा प्रतिनिधित्व गर्ने सभासद कुमार खड्काले सोमबार आयोजित पत्रकार सम्मेलनमा अभिव्यक्त विचारको सम्पादित अंश )
मैले नै बेड खोज्न सकिन : सभासद थापा
गण्डकी प्रदेशका सभासद विन्दुकुमार थापाले आफ्नी सासुको विरामी हुँदा अस्पतालमा बेड नपाएको खुलासा गरेका छन् । मेरी सासुको लागि बेड माग्न जाँदा अस्पतालबाट एकदम रुखो जवाफ पाइयो । बेड नपाएपछि अस्पताल डुलाउँदा डुलाउँदै मणिपाल अस्पतालमा निधन भयो । कोभिडविरुद्ध गण्डकी सरकारले राम्रो गरेको छु भनिरहँदा सांसदजस्तो व्यक्तिले आफ्नो नजिकका व्यक्तिलाई बेड पाउन सकिन भनेँ,अरुको अवस्था के होला ? मेरो आफ्नै घरमा भएको पीडा बताइरहेको छु । हामी जनताको समस्यामा संवेदनशील हुनुपर्ने हो । यहाँ कुरा गरिरहँदा गण्डकी प्रदेश सरकार जनताप्रति कति संवेदशील र जिम्मेवार छ भन्ने हो । मेरो गण्डकीका प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले पनि फोन उठाउनु भएन । यहाँका सामाजिक विकासमन्त्री नरदेवी पुनको पनि फोन उठेन । भोलिपल्ट उहाँको मिसकल आउँदा मेरी सासुको निधन भइसकेको थियो । स्थिति यस्तो विकराल र भयावह छ भनेर मात्र मैले यहाँ जानकारी दिन खोजेको हो ।





