म्याग्दी, १० मंसिर
ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी)ले तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा म्याग्दीकी सपना रोका मगर पनि परेकी छन् । बेवारिसे लासको ब्यवस्थापन तथा सामाजिक र मानवीय सेवामा सक्रिय रहेकी रोका मगर प्रभावशाली एक सय महिलाको सूचीमा परेकी हुन् ।
म्याग्दीको मंगलागाउँपालिका–४ बरंजा बुकेनीकी रोका मगर हरेक वर्ष संसारभरका १ सय प्रेरणादायी महिलाहरुको सूचीमा परेको खबरले उत्साहित भएको बताइन् ।
‘बिहान समाचार देखेर दंग परे, मलाई यो सम्मानले धेरै उत्साहित बनाएको छ’ उनले भनिन् । समाजमा प्रभाव छोड्न सफल महिलाहरुमध्ये बिबिसीले विभिन्न क्याटेगोरी तयार पार्दै १ सय महिलाको सूचीमा कलिलै उमेरमा रोका मगरको सामाजिक तथा मानवीय सेवाको चर्चासँगै बिबिसीले छनौट गरेको हो ।
सपनालाई समेटिएको सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्टलगायत विश्वभर दर्जनौ लोकप्रिय र संघर्षशिल महिलाहरू छन् ।
पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ प्रकारमा विभाजन गर्दै १०० महिलाको सूचि सार्वजनिक गरिएकोमा सपनालाई काठमाण्डौंलगायत देशभरका बेवारिसेको शब दाह संस्कारसँग जोडेर चर्चा गरिएको छ । अहिले आफन्तको घरमा बागलुङमा रहेकी उनले आफ्नो नाम छनौटमा परेको सूचना पाएको बताईन् ।
‘बेवारिसे लासलाई दागबत्ती दिँदा मैले यो सम्मानको अपेक्षा गरेको थिइन’, रोका मगरले भनिन् । उनले आफ्नो पूरानो दैनिकीसँगै नयाँ कार्यबाट समेत विश्वभरका महिलाका लागि प्रेरणाको स्रोत बन्ने अवसर यो छनौटले दिएको बताइन् ।
यसवर्ष दशैं तिहारमा लामो समयसम्म घरमै बसेकी सपनाले गाउँमा पनि सामाजिक कार्यलाई निरन्तरता दिईन् । उनले विपन्नलाई खाद्यान्न सहयोग तथा बालगृहका बालबालिकालाई समेत विभिन्न सहयोग गरिन् । विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी सपना उक्त संस्थाको राष्ट्रिय संयोजकसमेत हुन् । उनले आफ्नो गृह जिल्ला म्याग्दीमा समेत विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउने गरेकी छन् ।

को हुन् सपना ?
सपनाले २०७३ सालमा गाउँकै महेन्द्र रत्न माध्यामिक विद्यालयबाट एसईई दिएकी थिइन् । त्यसपछि गाउँ छाडेकी उनी सदरमुकाम बेनीमा कक्षा ११ मा भर्ना भइन् । बाबु–आमा र दाजु–दिदीले भनेको नमान्दा घर परिवारसँग सम्बन्ध बिग्रिएपछि केही समय बुटवल र पोखरा बसिन् । गलत संगतमा फसेपनि सपनाले कक्षा १२ सम्मको पढाई सकेकी छन् । जीवनसँग हारिसकेको अवस्थामा आत्महत्याको प्रयाससमेत गरिन् । उनले आफ्नो पुरानो जीवन कुलतमा फसेपनि अब बाँकी जीवन समाजसेवामा लाग्ने बताईन् ।
आत्महत्या असफलता माथिको सफलता नभएको भन्दै संघर्ष गरेर सफल बन्ने निधो गरिन् । उनले परिवारबाट गुमेको आफ्नो परिचय स्थापित गर्न सामाजिक कार्यमा निरन्तर सक्रिय भईन् । अहिले विगत आफ्नै नामजस्तै लाग्न उनले परिवारसँग विगतमा गरेका गल्तीको क्षमा याचना गर्दै बेवारिसेहरुको सेवामा लाग्ने प्रतिबद्धता समेत जनाइन् ।
ललितपुरमा बस्दै आएकी सपनाले दैनिकजसो पशुपतिमा पुगेर आफ्नो जिम्मेबारी पुरा गर्ने गरेकी छन् । दैनिकजसो काठमाण्डौको पशुपती आर्यघाट आसपासमा भेटिने गरेकी सपना बेवारिसे अवस्थामा भेटिएका शबको आफन्त बनेर दागबत्ती दिन्छिन् । पशुपतिमा सधै मृतकका परिवार, आफन्तको रूवाबासी हुने, मलामीको भिडभाड नजिकै उनले दागबत्ती दिने चिता आसपासमा न कसैको रुवाबासी, न कुनै भीड हुन्छ । ‘कुनै समय म पनि सडकमै थिएँ, सडकमा बस्दाको अनुभव मलाई पनि छ’, उनले भनिन् ।
आर्यघाटमा शब जलाउँदा माक्स लगाएर, हातले नाक थुनेर आवतजावत गर्दा सपनालाई केही हुदैन् । विभिन्न ठाउँमा फेला परेका बेवारिसे शव पोष्टमार्टम गरेर दुर्गन्ध फैलिएको शबलाई पनि दाउरा र पराल मिसाएर तयार गरिएको चितामा दागबत्ती दिने गरेकी छन् । ‘अपरिचित लासमा दागबति दिँदा मृत आत्माले शान्ति पाउँछ, मरेर जानेको आत्माले शान्ति पाए मलाई पुग्छ’ उनले भनिन् । बेवारिसलाई जमिनमा गाड्न खोज्दासमेत धार्मिक परम्परा अनुसार नै दागवत्ती दिनुपर्छ भनेर अडान लिएको उनको भनाई छ । उनले हालसम्म १ सय बेवारिसे शवमा दागबत्ती दिएकी छन् ।





