बागलुङ, ११ मंसिर– पूर्वमन्त्री तथा बिद्यामन्दिर पुस्तकालयका प्रधानसंरक्षक ओमकारप्रसाद गौचनको घर सास्कृतिक संग्राहलयको रुपमा बिकास गर्नुपर्ने आबाज उठेको छ ।
पुस्तकालयले आयोजना गरेको श्रद्दाञ्जली कार्यक्रममा सहभागिले ओमकारले घरमा राखेका हरेक बस्तु ऐतिहासिक भएको बताए । कार्यक्रममा श्यामप्रसाद श्रेष्ठले ओमकारले राजनीति, छिमेकी र आफन्तको घेराबाट माथि उठेर काम गरेको बताए । जिल्लाको पहिचानकालागि गरेको कामप्रति सबैले प्रसंसा गर्न लायक भएको पनि बताए । बुधवार बिहानै कांग्रेसले आयोजना गरेको श्रद्दाञ्जली कार्यक्रममा पनि सहभागिले गौचनको घरलाई संग्राहलय बनाउन पहल गर्ने बताएका थिए । गौचनको कात्तिक २६ गते निधन भएको थियो ।
कार्यक्रममा साहित्यकार प्रेम छोटाले साहित्यमा पनि गौचनको उच्च योगदान रहेको बताए । २०२१ सालमा गौचनले लेखेर मंचन गरेको नाटकमा प्रेम छोटालाई पनि कलाकार बनाएको उल्लेख गरे । गौचनलेनै छोटा नाम दिएपछि अहिलेसम्म आँफू पनि परिचित भएको बताए । नाटककारको रुपमा पनि गौचनलाई उनले चिनाउँदै उनले झोलुंगे पुलको जिल्ला भनेर चिनाउनेदेखि खानीहरुको खोजी संकलनमा पनि अभियान चलाएको बताए ।
कार्यक्रमका सहभागिले गौचनले पत्रपत्रिकादेखि खानीका धाउदेखि धेरै महत्वपूर्ण सामाग्री संग्रह गरेकोले उनको योगदानको कदर गर्न घरलाइनै संरक्षण गरेर राख्न सुझाव दिएका थिए । बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, रामचन्द्र शर्माको संचालन र राम थापाको स्वागतमा सम्पन्न कार्यक्रममा महेशचन्द्र प्रधानले गौचनको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा देबबहादुर श्रेष्ठ, मुकेशचन्द्र राजभण्डारी, शैलेन्द्र श्रेष्ठ, काजी रोशनलगायतले गौचनको योगदानको चर्चा गरेका थिए ।





