बागलुङ, ११ मंसिर – कीर्ते नागरिकता सिफारिस दिएको भन्दै जिल्ला अदालत बागलुङले बागलुङ नगरपालिका-४ का वडाध्यक्ष ध्रुव वहादुर केसीसहित ५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । बिहीबार पक्राउ पूर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले तत्कालिन वडा नम्बर ४ का सचिव प्रेमबहादुर खड्कासहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लोकेन्द्र श्रेष्ठका अनुसार पक्राउ पूर्जीपछि तत्कालिन वडासचिव हाल बागलुङ नगरपालिका-१४ मा कार्यरत प्रेमबहादुर खड्का र दोहोरो नागरिकता लिनका लागि साक्षी बसेका ३० वर्षीय सन्तोषआचार्य पक्राउ परेका छन् । वडाध्यध्यक्ष, कीर्ते नागरिकता लिने युवकका पिता बनेका गुरुदत्त आचार्य र सदाशिव प्राविका तत्कालिन निमित्त प्रधानाध्यापक महेन्द्र सापकोटालाई पक्राउ गर्न प्रहरी परिचालन गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
अभिभावक फेरेर दोहोरो नागरिकता लिएको समाचार ढोरपाटनले प्रकाशन गरेपछि प्रहरीले नागरिकता लिने बागलुङ नगरपालिका-६ का पंकज सापकोटालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।





