बागलुङ, १२ मंसिर– धौलागिरी क्षेत्रमै पहिलोपटक पत्रिका प्रकाशित गरेका ओमकारप्रसाद गौचनको जीवनशैलीबाट सबैले पाठ सिक्नुपर्ने कार्यक्रमका सहभागीले बताएका छन् ।
गौचनको पत्रकारिता योगदानबारे नेपाल पत्रकार महासंघले कृति प्रकाशितमा अगुवाई गर्नुपर्ने समेत धारणा व्यक्त भएको छ । उनको पत्रकारिताबाट अहिलेको पुस्ताले पनि धेरै सिक्न सक्नुपर्ने धारणा सहभागीको थियो ।
शुक्रबार महासंघले आयोजना गरेको श्रद्वाञ्जली कार्यक्रममा सहभागीले पत्रकारले सत्यतथ्य र सुशासन सम्बन्धी समाचार लेखनमा २००८ सालको सम्पदकीयबाट पनि सिक्न सक्नुपर्ने बताए ।
२००८ सालमा गौचनले सहीबाटो नामक पत्रिका हातैले लेखेर प्रकाशित गरेका थिए । उक्त पत्रिकामा सम्पादक रहेका गौचनलाई अर्का गोबिन्दलाल श्रेष्ठले सघाएको इतिहास छ । गौचनको कात्तिक २६ गते निधन भएको छ । त्यसअघि श्रेष्ठको पनि कात्तिक महिनामै निधन भएको थियो ।
कार्यक्रममा महासंघका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारीले गौचनको जीवनशैली अनुकरणीय रहेको भन्दै सुशासनमा अब्बल रहेको पनि बताए । ‘दुइतीन पटक मन्त्री भएको मानिसले कहिले पनि तडकभडक देखाउनु भएन’ राजभण्डारीले भने, ‘विद्यामन्दिर माविको भवन निर्माणमा उहाँले सम्पत्ति बेचेर ल्याएको पैसा दान गर्नु भयो ।’
उनको नेतृत्वमा विद्यालयका लागि झण्डै एक करोड संकलित भएको समेत बताइएको छ । गौचनले थकाली भाषाको पत्रिका र संस्कृति प्रकाशनमा पनि भूमिका खेलेका थिए । बागलुङलाई झोलुंगेपुलको जिल्ला भनेर चिनाउनेदेखि सामाजिक र राजनीतिक क्षेत्रमा तुलना गर्न सक्ने व्यक्तिको रुपमा परिचित भएको जानकारहरु बताउँछन् ।
महासंघका अध्यक्ष दिल शिरीषको अध्यक्षता, सचिव राम थापाको संचालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार कोपिला कंडेल र उमाकान्त शर्मा, महासंघको गण्डकी प्रदेश सदस्य संगम घर्ती मगर र पत्रकार प्रकाश बराललगायतले गौचनको योगदानबारे चर्चा गरेका थिए ।





