सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

निरन्तर माटो बग्दा फपरेटा बस्ती नै जोखिममा

निरन्तर माटो बग्दा फपरेटा बस्ती नै जोखिममा

अहिले पनि माटो चलिरहेको छ, जतिबेला पनि यो बस्ती जोखिममा पर्छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७७, शनिबार

बागलुङ, १३ मंसिर– तित्याङको सिमलपाटादेखि भकुण्डेको दहहँदैद्वार जाने सडकको ठाउँ ठाउँमा क्षतविक्षत छ । कतै भाँसिएको छ, कतै पहिरो खसेको छ । चिराचिरा परेको स्थानमा डरलाग्दो देखिन्छ । जर्बजस्ती हिँडाउन खोज्दा कतिपटक मोटरसाइकल पनि लडेका छन् ।
एकै ठाउँमा ५ सय मीटर सडक भाँसिएको छ । सडक छेउको झण्डै १५ रोपनी जमिन पनि चिराचिरा परेको छ । धान रोपेको खेतमा खाल्डैखाल्डा छन् । वर्षात्मा यहाँका बासिन्दाले घरै छाडेर बस्नुप¥यो । कतिबेला पहिरो खस्छ भन्ने डरले सतायो ।
बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेको फपरेटा टोलबासीको त्रासदी अझै हटेको छैन । सडकदेखि तल्लो खण्डमा काठेखोलासम्मै पहिरो चलेको छ । खरबारी, खेत र बारीमा पनि पहिरो छ । जंगलका कैयौं रुख ढलेका छन् । कतिपय ढल्केर बसेका छन् । ‘अहिले पनि माटो चलिरहेको छ, जतिबेला पनि यो बस्ती जोखिममा पर्छ’ स्थानीय ७० वर्षकी देवी थापाले भनिन्, ‘गाउँनै बग्ने खतरा छ, समयमै सुरक्षित बसाईको जोहो नगरी भएको छैन ।’
सामान्य पर्खाल लगाएर रोकिने पहिरो यो होइन भन्छन् स्थानीय । ‘अत्याधिक वर्षात् र पर्यटकीय रुपमा विकास गरिएको दहको पानी भित्रभित्रै छिरेकोले सुख्खा पाखोमा पनि मुल फुटेका थिए’ स्थानीय सुशिल थापाले भने, ‘बस्ती सर्नुपर्ने भएको छ, सुरक्षित जमिनको खोजीमा छौं ।’ थापाको परिवारले गाउँकै विभिन्न टोलमा घर बनाउने जमिन खोजी रहेका छन् ।
यो वर्ष अत्याधिक वर्षात्ले धेरै स्थानमा जोखिम बढाएको छ । ढोरपाटनको पहिरोदेखि अन्य स्थानमा पनि जतिबेला पनि पहिरो खस्ने खतरा भएको प्राविधिक समेत बताउँछन् । ‘चाहिनेभन्दा धेरै वर्षात्ले बाढी पहिरोको जोखिम निम्त्याएको छ’ बागलुङ नगरपालिकाका इन्जिनियर दिपेन्द्र भण्डारीले भने, ‘अत्याधिक जोखिम भएकोले सामान्य मर्मत गरेर हुने जस्तो देखिंदैन ।’ निरन्तर बग्ने र चिराचिरा पर्ने खतरा भएकोले भूगर्भबिद ल्याएर परीक्षण गर्नुपर्ने उनले सल्लाह दिएका छन् ।
स्थानीय बासिन्दाले भने भूगर्भविद खोज्न नसक्ने भन्दै नगरपालिकाले चासो दिनुपर्ने बताए । यहाँका २० घरबढी जोखिममा छन् । अधिकांसले सुरक्षित बसोबासको खोजी गरेको जीतबहादुर रायमाझीले बताए । ‘दुइवटा गोठ पनि भत्केका छन्, बारी सबै चिराचिरा छ, कतै खाल्डा परेका छन्’ उनले भने, ‘तत्काल सुरक्षित बसोबासको प्रबन्ध गरिएन भने वर्षात्मा ठूलो क्षति हुने खतरा देखियो ।’
जोखिम देखिएकोले स्थानीयले अत्यावस्यक पर्ने संरचना पनि बनाउन सकेका छैनन् । उनीहरुले सुरक्षित बसाईका लागि नगरपालिकामा पटक पटक धाएर साथ दिन आग्रह गरेको बताए । नगरप्रमुख जनकराज पौडेलले पनि स्थलगत भ्रमण गरेर अवस्था बुझेको बताए ।
‘भूगोलमै समस्या भएको हो की भन्ने अनुमान गरेर भूगर्भविदहरु ल्याउने कुरा भएको छ’ पौडेलले भने, ‘छिट्टै उहाँहरुको सुरक्षित बसाई व्यवस्थापनमा काम गर्छौ ।’ भूकम्प पुननिर्माण प्राधिकरणमार्फत प्रतिपरिवार ३ लाख रुपैयाँ उपलब्ध गराएर सुरक्षित बसाइ निर्माणमा साथ दिने उनले बताए । जमिन नै छाड्नुपर्ने अवस्थाका लागि नगरपालिकाले पनि प्रतिपरिवार १ लाखदेखि डेढलाख रुपैयाँसम्म अनुदान दिन सक्ने उनले बताए ।
सडकसमेत अवरुद्ध भएकोले तत्काल कसरी खुलाउन सकिन्छ, विकल्प के हुने भनेर प्राविधिकहरु निरन्तर खटाएको पनि पौडेलले बताए । स्थानीयले भने तत्काल काम थाल्ने अवस्था नभएमा वर्षात्मा जोखिम बढ्ने भन्दै चिन्तित भएका छन् । ‘समयमै काम नगर्ने हो भने हामीले अर्काको खेतमा गएर छाप्रो बनाएर बस्नुपर्ने जोखिम छ’ रायमाझीले भने, ‘दिनदिनै हामी धर्ना दिन सक्दैनौं, नगरपालिकाले कहिले साथ दिन्छ थाहै भएन ।’
पहिरो जाने खतराले अत्यावस्यक पर्ने गोठसमेत बनाउन नसकेको स्थानीय संजीव थापाले बताए । गत भदौमा उनीहरुको गोठ भत्केको थियो । समयमै गाइभैसी निकाल्न सकेकोले थप क्षतिबाट बचाएको उनले बताए ।
पर्यटकीय दृष्टीले महत्वको दहलाई ठूलो बनाउन पर्खाल थपेपछि पानीको भार बढेको र माछा पाल्दा भित्रभित्रै खोलिएर जोखिम बढेको समेत उनीहरुले बताएका छन् । ‘पानीले खोलिएको हुन सक्ने हामीले पनि अनुमान लगायौं’ नगरप्रमुख पौडेलले भने, ‘पर्यटकीय दह भएकोले माछा नपाल्ने, सौदर्यको रुपमा डुंगा मात्रै चलाउन सल्लाह दिएका छौं ।’ वर्षात्अघि नै उनीहरुको सुरक्षित बसाईमा काम थाल्ने पनि उनले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->