बागलुङ, १३ मंसिर– पत्रकारिता क्षेत्रमा धौलागिरीको अवस्था र पत्रकार महासंघ बागलुङका गतिविधि समेटिएको ‘धौलागिरीमा पत्रकारिता’ पुस्तक प्रकाशनको तयारी थालिएको छ । पत्रकार महासंघ बागलुङको वर्तमान कार्यसमितिले कार्यकालको उत्तरार्धमा दस्तावेज तयार गर्ने भन्दै पुस्तकको तयारी थालेको हो ।
आगामी फागुनमा हुने महासंघको अधिवेशनमा पुस्तक विमोचन हुनेगरी संघले तयारी थालेको हो । ‘अहिलेसम्मका गतिविधि, भवन निर्माणमा सहयोग गर्नेहरुको नामावली तथा धौलागिरिको पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको विषय समेटेर पुस्तक प्रकाशित गर्दैछौं,’ अध्यक्ष शिरीषले भने ‘यो केवल एउटा पुस्तक मात्र नभएर दस्तावेज र यहाँको पत्रकारिताको इतिहाससमेत हुनेछ ।’
शाखाले निर्माण गरेको आफ्नै भवनको उद्घाटन र शाखाको साधारणसभा मंसिर ३० गते बागलुङ बजारमा हुनेछ । शुक्रबार बसेको शाखाको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । मंसिर ३० मा महासंघको साधारण सभासंगै भवनको उद्घाटन गर्ने निर्णय भएको महासंघका सचिव राम थापा अविरलले बताए । थापाले भने, ‘त्यही मौका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट कार्यालय भवनको समेत उद्घाटन गर्ने निर्णय भएको छ ।’
महासंघका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा भएको बैठकले मंसिर तेस्रो साता भर्चुअल माध्यमबाट विभिन्न विषयगत पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । ‘कोरोनाको समस्या अझै पनि जटिल नै देखिन्छ, त्यसैले गर्दा जिल्लाभरका पत्रकार साथीहरुलाई जम्मा गरेर तालिम गर्ने अवस्था छैन’ उनले भने, ‘विषयगत रुपमा डिजीटल पत्रकारिता, खोज पत्रकारिता, आर्थिक पत्रकारिता तथा स्वास्थ्य पत्रकारितालगायतका तालिम सञ्चालन गरिनेछ ।’
महासंघको यस पटक साधारणसभा मात्रै हुनेछ । अधिवेशनको वर्ष भएपनि आगामी फागुनमा मात्रै अधिवेशन र चुनावी कार्यक्रम हुने शिरीषले बताए । ‘पत्रकार महासंघले विधान संशोधन गरेर केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व छनोटका लागि जिल्लाबाट एकै साथ सबै साधारण सदस्यले मतदान गर्न पाउने गरी व्यवस्था गरेपछि अघिल्लो वर्ष फागुनमा हुनुपर्ने अधिवेसन लम्बिएको हो’ उनले भने, ‘त्यसपछि कोरोनाले गर्दा सरेर यहाँसम्म आईपुग्यो । अधिवेसनको कार्यक्रम फागुनमा हुनेछ ।’





