
बागलुङ, १७ मंसिर– नेपाल सरकारबाट आँफुहरुले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न भूतपूर्व भारतीय सैनिकहरुले माग गरेका छन् । बागलुङको जैमिनी नगरपालिकामा संगठित भूपू सैनिकहरुले सामाजिक सुरक्षा भत्ता कटौती भएकोमा अपत्ति जनाएका हुन् ।
भूपू सैनिक तथा भूपू शिक्षक कर्मचारीहरुको भेलाले यस्तो माग गरेको हो । आँफुहरु पनि देशको अन्य नागरिक जस्तै रहेको भन्दै उनीहरुले सेवापछिको सुविधा उपभोग गरेकै आधारमा भत्तामा विभेद गर्न नहुने तर्क गरे । आँफुहरुले लिँदै आएको निवृत्तिभरण सेवाबापत भएको भन्दै उनीहरुले राज्यले दिएको सुविधा सबै नागरिक दावेदार हुने बताए ।
उनीहरुले पुनः सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनु पर्ने मागसमेत गरेका छन् । सुवेदार छविलाल श्रीष रानाले भने ‘आफ्नै नागरिकको सामाजिक उत्तरदायित्वअन्र्तगत पाउने सुविधा उपभोगको कटौती गर्ने यो कस्तो बिधि हो ?’ राज्यले भत्ता काटेपछि आफुहरुले राज्यविहीनताको महशुस गर्न थालेको उनको भनाई छ ।
उनीहरुले विश्वभर महमारीको रुपमा फैलिएको कोरोनाका कारण पीडित भएका सर्वसाधरणलाई सहयोग गर्दै आएका छन् । भूपूहरुको परिवारमा मृत्युको घटना भएमा किरिया खर्चस्वरुप १० हजार सहयोग गर्दै आएको श्रीसले बताए ।





