शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाविरुद्धको पहिलो खोप स्वीकृत गर्यो बेलायतले

कोरोनाविरुद्धको पहिलो खोप स्वीकृत गर्यो बेलायतले

बेलायत कोरोनाविरुद्ध खोप प्रयोग गर्ने पहिलो देश बनेको छ ।


  • एजेन्सी
  • मंसिर १८ २०७७, बिहिबार

लन्डन, १८ मंसिर – बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न स्वीकृति दिएको छ । यससँगै बेलायत कोरोनाविरुद्ध खोप प्रयोग गर्ने पहिलो देश बनेको छ । बेलायतले यसको प्रयोग केही दिनमै सुरु गर्नेछ । बेलायतको स्वास्थ्य नियामक संस्था मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले यो खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो । फाइजर र बायोएनटेकले करिब १० महिना अवधिमा खोप बनाएका हुन् । यो ९५ प्रतिशत प्रभावकारी भएको जनाइएको छ ।
बेलायतले निःशुल्क खोपलाई अनिवार्य भने गरेको छैन । अहिले तीन तरिकाले खोप दिइने जनाएको छ । अस्पताल, खोप केन्द्र र समुदायमा फार्मिसिस्टका साथमा खोपको प्रयोग गरिनेछ । जसका लागि करिब ५० अस्पताल र खोप केन्द्र तयारी अवस्थामा छन्। खोप केन्द्रका लागि रंगशालाजस्ता खुला ठाउँमा पनि तयारी गरिएको छ । संक्रमितलाई यो खोप तीन सातामा दुई डोज दिनुपर्छ । अमेरिका, जर्मनी, ब्राजिललगायत देशमा गरिएको परीक्षणमा दोस्रो डोजसम्म दिइएको थियो । त्यसको सात दिनमा ९० प्रतिशत बिरामी संक्रमणमुक्त भएका थिए ।
बेलायतले ४ करोड खोप किन्ने प्रक्रिया सुरु गरिसकेको छ। जसले त्यहाँका स्वास्थ्यकर्मी र ६५ वर्षभन्दा माथिका सबैलाई दिन पुग्ने अनुमान गरिएको छ । बेलायतका सरकारी अधिकारीका अनुसार आगामी वर्षको अन्त्यसम्म १० करोड डोज उपलब्घ हुने अपेक्षा छ । औषधि कम्पनीले पनि आगामी वर्षसम्म एक अर्ब ३० करोड डोज आपूर्ति गर्न सक्ने बताएको छ। यो खोप माइनस ७० डिग्री तापक्रममा मात्र भण्डारण गर्न सकिन्छ । त्यसलाई सुख्खा आइसमा विशेष बाकसमा राखेर मात्रै एक ठाउँबाट अन्यत्र लैजानुपर्ने हुन्छ । विज्ञहरूले भने खोप सुरु भएपछि पनि सतर्क रहनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->