मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

३ सातापछि खुल्यो सडक, ताराखोलाबासीलाई राहत

३ सातापछि खुल्यो सडक, ताराखोलाबासीलाई राहत


  • बालकृष्ण सुवेदी
  • असोज २७ २०८३, मंगलबार

बागलुङ/बाढीले सडकको ट्र्याक नै बगाएपछि तीन सातादेखि अवरुद्ध गलकोट–ताराखोला जोड्ने मुख्य सडक सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै यातायात सम्पर्कविच्छेदको समस्यामा परेका ताराखोलाबासीलाई राहत मिलेको छ ।

गत असोज ११ गते दरमखोलामा आएको बाढीले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सिमानामा पर्ने गाईघाट झरना नजिक सडकको ट्र्याक नै बगाएपछि सडक अवरुद्ध भएको थियो । बाढीले सडकका विभिन्न भागमा क्षति पु¥याउँदा गलकोटदेखि ताराखोला गाउँपालिकासम्मको यातायात सम्पर्क प्रभावित बनेको थियो ।

अवरुद्ध सडक अस्थायी रूपमा मर्मत तथा पुनःस्थापना गरी यातायात सञ्चालनमा ल्याइएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिए । सडक पूर्ण रूपमा व्यवस्थित नभए पनि अस्थायी रूपमा सञ्चालनमा आएपछि स्थानीयबासीको आवतजावत सहज हुने अपेक्षा गरिएको विकले बताए ।

सडक अवरुद्ध हुँदा स्थानीयबासीलाई दैनिक आवतजावत गर्न तथा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको थियो । ‘‘मुख्य सडक नै अवरुद्ध भएपछि जनजीवन प्रभावित बनेको थियो, बाटो खुलेपछि राहत मिलेको छ’’ विकले भने ।

गलकोट र ताराखोलालाई जोड्ने प्रमुख सडकका रूपमा रहेको रणनीतिक सडकमा बाढीले क्षति पु¥याएपछि यातायात सञ्चालनमा कठिनाइ भएको थियो । तीन सातापछि सडक खुलेसँगै स्थानीयबासीको आवागमन र सामान ढुवानीमा सहजता आएको छ ।

गण्डकी प्रदेश सरकारको बजेटबाट गत आर्थिक वर्षमा कालोपत्र गरिएको रणनीतिक सडक बाढीले छियाछिया बनाउँदा गलकोट–ताराखोला हुँदै म्याग्दीको रुमबासी सडक सुविधाबाट बञ्चित भएका थिए । मुख्य सडक अवरुद्व हुँदा काठेखोलाको रिजालचोकदेखि पालिका केन्द्र अर्गलको भातखाने डाँडा जोड्ने सहिद मार्गको यात्रा गर्नुपर्ने बाध्यता थियो ।

दरमखोलामा पानीको सतह घट्दै गएपछि सडकको ट्रयाक खोलेर चाडपर्वमा आवातजावत गर्न सहज बनाएपनि सडकलाई दिगो बनाउन भने समय लाग्ने पुर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर अनिल बर्देवाले बताए । सडक बनाउन काम पालिकाले लगाउने, रकमको शोधभर्ना पुर्वाधार कार्यालयमार्फत प्रदेश सरकारले गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->